
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकै दिन १११ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
कञ्चनपुरको तत्कालीन महेन्द्रनगर नगर विकास समितिअन्तर्गत रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा सार्ने कार्यमा संलग्नहरूविरुद्व आइतबार विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
आयोगले व्यक्तिको नाममा जग्गा सार्ने काममा संलग्न समितिका तत्कालीन अध्यक्षसहितलाई भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
एउटै घटना भए पनि एक जनालाई फरक फरक मुद्दा दायर गरिएको आयोगले जनाएको छ । आरोपितबाट तीस करोड रुपियाँभन्दा बढी बिगो दाबी गरिएको छ ।
मुद्दा दायर गरिएका मध्ये समितिका तत्कालीन अध्यक्ष गोपाल रसाइली, पल्टु राना, मालपोत कार्यालय कञ्चनपुरका तत्कालीन प्रमुखहरू कृष्णकुमार निरौला, विसनसिंह थापा, नापी कार्यालयका तत्कालीन प्रमुखहरू मोहन चन्द, पुष्पराज जोशी, निमित्त नापी अधिकृत चेतनाथ दाहाललगायत रहेको अख्तियारले जनाएको छ ।
सबैलाई कसुरअनुसार बिगो र भ्रष्टाचार ऐनअनुसार कारबाहीको माग गरिएको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ । आयोगले जग्गा नामसारी गर्ने कार्यमा संलग्न अन्य कर्मचारी तथा जग्गा आफ्नो नाममा सार्न लगाउने व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।