
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट राजीनामा दिएका गोविन्द साहले नेपाली कांग्रेसबाट मेयरको टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउने भएका छन् ।
कांग्रेसबाट धनुषाको विदेह नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिने भन्दै २०७८ फागुन १० गते नै उनले एसएसपी पदबाट राजीनामा गरेका थिए ।
उनको नाम मेयरका लागि सिफारिस पनि गरिएको थियो । तर, योगेन्द्र यादवलाई कांग्रेसले टिकट दिएपछि साहले बागी उम्मेदवारी दिने भएका हुन् ।
'मेरो नाम सिफारिस गरिएको भए पनि कुनै पहिचान र अस्तित्व नभएका योगेन्द्र यादवलाई पार्टीले टिकट दियो,' साहले लोकान्तरसँग भने, 'उनलाई पार्टीले पचाउनै सक्दैन, सबै साथीहरूले उम्मेदवारी दिनुपर्छ भनेपछि विद्रोह गर्दै स्वतन्त्रबाट उम्मेदवारी दिन लागेको हो ।'
उक्त नगरपालिकामा नगर सभापति गणेश साह, गत मेयरका प्रत्यासी प्रेमचन्द्र झा, रामचन्द्र मण्डलको नाम सिफारिस गरिएको थियो ।