
नेपाल वायुसेवा निगमले काठमाडौं जापान उडानमा एउटा उडान तालिका थप गरेको छ ।
निगमले हप्तामा २ दिन मात्रै गर्ने जापान उडान अब ३ दिन हुने भएको छ ।
निगमले काठमाडौं–नारिता सेक्टरमा हप्तामा २ वटा उडान गरिरहेकोमा १ मे २०२२ देखि हप्तामा ३ उडान गर्ने भएको छ । निगमले गर्ने यस्तो उडान हरेक आइतवार, मंगलवार र शुक्रवार हुनेछ ।
सेक्टरमा जापान सरकारको नियमअनुसार आइतवार र मंगलवारको उडानमा जम्मा १४० यात्रुहरू एवं शुक्रवारको उडानमा जम्मा १२० जना यात्रुहरू मात्र बोक्न पाइने व्यवस्था गरेकाले सोहीअनुसार सिट उपलब्ध गराउनु उडान तालिका बढाएको निगमले जानकारी दिएको छ ।
गन्तव्यमा जहाजको क्षमताभन्दा करीब आधा कम क्षमतामा उडान गर्नुपर्ने हुँदा भाडादर पनि बढेको निगमले बताएको छ । यो गन्तव्यको उडानमा इकोनोमी क्लासको भाडादर १ लाख १९ हजार ७०० रुपैयाँ र बिजनेश क्लासमा १ लाख ५२ हजार रुपैयाँ एकतर्फी रहेको निगमले जानकारी दिएको छ ।
यो भाडादर करसहित हो । यसरी तोकिएको मूल्यभन्दा बढी भाडा लिई टिकटहरू बिक्रीवितरण गरेको गुनासो प्राप्त भएको हुँदा कसैले तोकिएको मूल्यभन्दा बढी मूल्य लिई बिक्रीवितरण गरेको पाइएमा नियमानुसार कारवाही हुने निगमले एक प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
नारिता–काठमाडौं सेक्टरमा भने जहाज पूर्ण क्षमतामा उडान भइरहेको निगमका प्रवक्ता अर्चना खड्काले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।