
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा घोषणापत्र नै जारी गर्न नसकेको भन्दै माओवादी केन्द्रप्रति कटाक्ष गरेका छन् । कांग्रेसको घोषणापत्र विचार शून्य गाली पुराण भएको उनको आरोप छ ।
मनमोहन अधिकारीको २३ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ढाँट्ने कुरा बाँकी नरहेकोले माओवादीले चुनावी घोषणापत्र नै ल्याउन नसकेको आरोप लगाएका हुन् ।
‘माओवादी भन्ने पार्टी होइन केन्द्र हो । माओवादीले चुनावी घोषणापत्र नै निकालेन, माओवादीको चुनावी घोषणापत्र छैन । यो पार्टी भयो त ? किन ननिकालेको ? उसले के गर्दैछ भन्नै मिल्दैन । हुन त उल्टा कुरा गर्न अप्ठेरो लाग्दैन,’ ओलीले भने, ‘फाटोवादी, चोइटोवादी प्रतिगामीले हतारमा घोषणापत्र निकाल्यो केही न केहीको ।’
ओलीले कांग्रेसको घोषणापत्र देख्दा आफूलाई दया लागेको बताए । ‘कांग्रेस सभापतिजी, प्रधानमन्त्री शेरबहादुरजीले यस्तै काम गर्नुहुन्छ र हामीलाई सजिलो पर्छ । कांग्रेसको नेतृत्व यस्तो भइरहोस् । गतिलो सरकार भयो भने हामीलाई अझ मेहनत गर्नु पथ्र्यो नि,’ ओलीले भने ।
‘कांग्रेसको चुनावी घोषणापत्र लद्दु विद्यार्थीको चिट चोराइ जस्तो छ, जनताले त पढ्दै पढ्दैन । नेपाली कांग्रेस चिन्नको लागि हामीले धैर्यताका लागि पढ्न जरुरी हुन्छ । कांग्रेसको घोषणापत्र आफ्नै मुखबाट बकपत्र हो । कांग्रेस के हो ?,’ ओलीले थपे ।
ओलीले देश बनाउने भिजनबारे देउवालाई सोध्न सुझाव दिए । ‘शेरबहादुरजीको जवाफ यसै भन्न सकिन्छ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ । कांग्रेसलाई होच्याउन खोजेको भन्नु हुन्छ,’ ओलीले भने ।