काठमाडौँ, २९ असार- प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार (१ साउनमा) मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् । शनिबारसम्म मन्त्रीको टुंगो लगाउने र आइतबार विस्तार गर्ने सहमति सत्तासाझेदार कांग्रेस र माओवादी केन्द्रबीच भएको खबर नयाँ पत्रिकाले छापेको छ ।

‘माओवादी अध्यक्ष शुक्रबार नेपाल फर्केपछि शनिबार दुई दलबीच मन्त्रालय बाँडफाँड टुंग्याएर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ,’ प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले भने । पत्नी सीताको उपचारका लागि प्रचण्ड बुधबार थाइल्यान्ड गएका छन् । उनी फर्केपछि माओवादीले मन्त्रीहरूको टुंगो लगाउनेछ ।
कांग्रेस र माओवादीबीच मन्त्रालयको भागबन्डा अझै मिलेको छैन । दुई पार्टीबीच कुन मन्त्रालय कसले राख्ने र कुन दलले कति मन्त्रालय पाउने भन्ने टुंगो लागेको छैन । स्रोतका अनुसार प्रधानमन्त्री देउवा कांग्रेसलाई ११ र माओवादीलाई ८ मन्त्रालय हुने गरी बाँडफाँड गर्ने र बाँकी मन्त्रालय अन्य दललाई दिने मनस्थितिमा छन् । माओवादीले भने १० मन्त्रालय मागेको छ ।
पहिलो चरणमा कांग्रेसले अर्थ, शिक्षा र श्रम तथा रोजगार तथा माओवादी केन्द्रले गृह, परराष्ट्र र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । माओवादीले सामान्य प्रशासन, आपूर्ति, स्वास्थ्य, कृषि विकास, भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय दाबी गरिरहेको छ । कांग्रेसले भौतिक पूर्वाधार तथा यातायात र वन तथा भू–संरक्षण मन्त्रालय आफैँ राख्न चाहेको छ । कांग्रेसमा रामचन्द्र पौडेल पक्षले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय दाबी गरेको छ भने अर्का नेता खुमबहादुर खड्का पक्षले वन मन्त्रालय दाबी गरेका छन् ।