
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान शुरू गर्ने भएको छ ।
आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय लगायत सरोकार भएका निकायकाबीच छलफल शुरू गरेको छ ।
आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको सिद्धान्त पत्ता लगाएर त्यसलाई क्रियात्मक रूप दिन लागिएको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए ।
यसका लागि वेदशालाको स्थापना गर्न पनि मन्त्रालयसँग माग गरिएको उनले सुनाए । आकाशीय ग्रह र गणित एकै रथका २ पांग्रा भएकाले अध्ययन अनुसन्धानका लागि वेदशाला अत्यावश्यक भएको समितिको भनाइ छ । आकाशमा जस्तो ग्रह गति छ गणितमा दुरुस्त उतार्न अनुसन्धानमा ढिलाइ भइसकेको छ ।
अनुसन्धानबाट गणितमा के सुधार गरिनुपर्छ भन्ने प्रस्ट हुने भएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले बताए ।