
कुमारी बैंक लिमिटेडसँगको सहकार्यमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सो कार्यालयसँग सम्बन्धित शुल्क तथा जरिवाना कुमारी बैंक लि.को क्यूआर.प्रणालीबाट सीधै भुक्तानी गर्न सकिने सेवा शुरू गरेको छ ।
काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आज (शुक्रवार) आयोजित एक उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले विधिवत रुपमा सेवा सञ्चालन गगरेका थिए ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथि, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक उमेश राज जोशीले गृह प्रशासनलाई डिजिटलाइज गर्ने नेपाल सरकारको कार्ययोजना सफल बनाउन यस प्रणालीको सुरुवातले सहयोग पुगेको बताए ।
यो सेवाको शुरूवातले अब विना नगद तथा झन्झट सेवाग्राहीले छोटो समयमा नै आफ्नो काम सम्पन्न गरी सेवा प्राप्त गर्न सकिने तथा राजस्व संकलनमा सहज हुने विश्वास व्यक्त गरे ।
यसैबीच कार्यक्रमका अतिथि कुमारी बैंक लिमिटेडका डिजिटल बैकिङ्ग विभागका प्रमुख अनिश ताम्राकारले समयको परिवर्तनसँगै प्रविधिमैत्री सेवा विस्तार गर्न कुमारी बैंक सधैँ अगाडि बढिरहने कुरामा जोड दिए ।
उनले डाइनामिक क्युआर प्रविधिबाट राजस्व संकलन गर्ने प्रणालीको शुरुवात एउटा नयाँ आयाम भएको विचार व्यक्त गर्दै आगामी दिनमा अन्य कार्यालयबाट पनि यस प्रकारका सेवा सुचारु गरिने बताए ।
यस प्रणाली अन्तर्गत सेवाग्राहीले राजस्व रकम भुक्तानी गर्दा क्युआर कोड स्क्यान गर्नासाथ रकम सहित सम्पूर्ण विवरण सेवाग्राहीले प्राप्त गरी सीधै भुक्तानी गर्न सकिने जानकारी गराए ।
कार्यक्रममा समुपस्थित फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले जुनसुकै बैंकमा रहेको खाताबाट क्यूआर स्क्यान गरी सुरक्षित डिजिटल प्रणालीबाट भुक्तानी गर्न सकिने सुविधा यस प्रणालीमा रहेको बताए ।