२३ जेठ २०८३, शनिबार

सामाजिक सुरक्षामन्त्री श्रेष्ठ र मलेसियन मानव संसाधनमन्त्री दातुकबीच भेटवार्ता

बैशाख १६, २०७९
सामाजिक सुरक्षामन्त्री श्रेष्ठ र मलेसियन मानव संसाधनमन्त्री दातुकबीच भेटवार्ता
फाइल तस्वीर

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका मानव संसाधनमन्त्री दातुक सेरी एम. सराभननबीच भेटवार्ता भएको छ ।

मलेसियाको औपचारिक भ्रमणमा रहेको मन्त्री श्रेष्ठसहितको टोलीले मलेसियाका मानव मानव संसाधन मन्त्री दातुकसँग द्विपक्षीय बैठक गरेको हो।

बैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरूको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रशंशा भयो।

बैठकमा नेपाल र मलेसियाबीच सन् २०१८ मा हस्ताक्षर भई हाल कार्यान्वयनमा रहेको द्विपक्षीय समझदारीपत्रलाई थप प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, मलेसियाको श्रमबजारको आवश्यकता बमोजिम नेपाली युवाहरूलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिलाई शुन्य लागत सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने, मलेसियामा रोजगारीमा रहेका नेपाली नागरिकहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र सामाजिक कल्याणलाई थप सवलीकरण गर्ने, चौबिसै घण्टा प्रभावकारी हुने बिमा सुविधाको व्यवस्था गर्ने विषयमा वृहत छलफल भएको थियो ।

 नेपाली श्रमिकहरूलाई आफ्ना अधिकार र आफुले पालना गर्नुपर्ने शर्तहरूको विषयमा मलेसिया प्रवेश गर्नुअघि नै सचेत गराई कामको सिलसिलामा कुनै समस्या आइपरे तुरुन्त गुनासो गर्ने र प्राप्त गुनासाहरूको समयमै सम्बोधन गर्ने व्यवस्था मिलाउने लगायतका विषयमा छलफल भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

 मन्त्री श्रेष्ठको भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा. थानेश्वर भुसाल छन् । यसैगरी द्विपक्षीय वैठकमा नेपाली राजदूतावासका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस र श्रम काउन्सेलर दीपक ढकालले समेत भाग लिएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्