१२ असार २०८३, शुक्रबार

दुष्प्रचारयुक्त सामग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी

बैशाख १६, २०७९
दुष्प्रचारयुक्त सामग्री र द्वैषपूर्ण अभिव्यक्ति सम्प्रेषण नगर्न प्रेस काउन्सिलको चेतावनी

प्रेस काउन्सिल नेपालले दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा अपिल गरेको छ । 

स्थानीय तह निर्वाचनको संघारमा विभिन्न उम्मेदवार लक्षित सामग्री सम्प्रेषण भएका गुनासा, उजुरी आइरहेको सन्दर्भमा काउन्सिलले शुक्रवार यस्तो अपिल जारी गरेको हो । 

‘पछिल्लो समयमा राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यहरूलाई लिएर विभिन्न टीकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार हुने, चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषणका घटनाहरू बढिरहेका छन् भने कुनै राजनीतिक दलका नेताहरूले अर्काे राजनीतिक दल तथा दलका नेताहरूविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिने गरेको र सोलाई समेत प्राथमिकता दिई सञ्चारमाध्यमबाट सम्प्रेषण भएको स्वअनुगमनबाट देखिएको छ,’ काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराबाट हस्ताक्षरित अपिलमा भनिएको छ । 

त्यस्ता सामग्री सम्प्रेषण गर्ने १६ सञ्चारमाध्यमलाई स्पष्टीकरण माग गरिएको, ४ वटालाई निर्देशन दिइएको, २ वटालाई ध्यानाकर्षण गराइएको र दर्ता नभएको १ वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण नहुने गरी कारबाही गरिएको समेत काउन्सिलले जनाएको छ । 

पत्रकार तथा आमसञ्चार माध्यमबाट पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भए/नभएको विषयमा प्रेस काउन्सिलले विशेष अनुगमन गरिरहेको छ । 

विशेष अनुगमन प्रारम्भ भएयता कतिपय सञ्चारमाध्यमबाट राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पुर्‍याउने, चरित्र हत्या हुने गरि अतिरञ्जित एवं दुरासययुक्त सामग्री सम्प्रेषण भएको निष्कर्ष काउन्सिलको छ । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले केही दिन अघि चुनावका बेला गलत समाचार उत्पदान गर्ने कारखानै चल्न सक्ने खतरा औंल्याउँदै त्यस्ता भ्रमपूर्ण सामाग्रीबाट बच्न र समाचारको स्वतन्त्र पुष्टि गरेर मात्र सम्प्रेषण गर्न सार्वजनिक अपिल गरेका थिए ।

‘निर्वाचनको बेलामा गलत समाचार, दुष्प्रचार र घृणास्पद (द्वैषपूर्ण) अभिव्यक्तिहरू सञ्चारमाध्यमलाई प्राप्त हुन सक्छन् । गलत, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्ने र द्वैषपूर्ण अभिव्यक्तिलाई स्थान नदिने, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सञ्चारमाध्यम सदैव सजग हुनुपर्दछ । तसर्थ दुष्प्रचारयुक्त तथा घृणास्पद अभिव्यक्तिलाई स्थान नदिन, कुनै दल वा उम्मेदवार विशेषको प्रचारप्रसारलाई अतिरञ्जना नगर्न/नगराउन हुन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा प्रेस काउन्सिल नेपाल पुनः अपिल गर्दछ,’ अपिलमा भनिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्