१८ असार २०८३, बिहीबार

धरहराको पुनर्निर्माण अझै अधुरै

बैशाख १७, २०७९
धरहराको पुनर्निर्माण अझै अधुरै

भूकम्पबाट भत्किएको ऐतिहासिक सम्पदा धरहराको उद्घाटन गरेको १ वर्ष बित्दासमेत सञ्चालनमा आउन सकेको छैन ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ११ वैशाख २०७८ मा नै धरहराको उद्घाटन गरेको थियो । विस्तारित धरहराअन्तर्गत धरहरा टावरको संरचना बन्न साथ हतारमा उद्घाटन गरेका कारण अहिलेसम्म पनि सर्वसाधारणका लागि खुला हुन नसकेको हो ।

धरहरा पुनर्निर्माणअन्तर्गत अहिले पनि रंगरोगन, लाइटिङ लगायतका काम जारी रहेको छ । धरहराको अन्डरग्राउन्ड पार्किङ समेत सम्पन्न हुन सकेको छैन । धरहराको टावरमुनि ३ तले भूमिगत पार्किङ बनाउने काम भइरहेको छ ।

खिचापोखरीबाट टुँडिखेल जोड्ने सडक निर्माणको नयाँ योजना पनि रहेको छ । जसको काम पनि बाँकी छ । बगैंचा, पार्क निर्माणको कामसमेत बाँकी रहेको छ ।

निर्धारित समयमा पुनर्निर्माण सम्पन्न नभएपछि उद्घाटन गरेको १ वर्षपछि धरहराको पुनर्निर्माण म्याद फेरि करीब १ वर्ष थप्न थालिएको छ । धरहराको पुनः निर्माण अवधिको म्याद चैत मसान्तमा सकिएपछि सरकारले धरहरा पुनर्निर्माणका लागि पुनः म्याद थप्न लागेको हो । धरहरा गत मंसिरमा सम्पन्न गर्नुपर्ने समयावधि तोकिएको थियो तर सरकारले कोभिड महामारीको कारण प्रभावित परियोजनालाई थप ६ महिना समय दिएको थियो ।

११ वैशाख २०७८ मा तत्कालीन प्रधानमन्त्री ओलीले करीब आधा मात्र भौतिक प्रगति भएको अवस्थामा नै धरहराको उद्घाटन गरेका थिए ।

शहरी विकास मन्त्रालयले हालसम्म धरहराको करीब ७५ प्रतिशत काम सम्पन्न भएको जनाएको छ । मन्त्रालयले असोजसम्ममा काम सम्पन्न गर्ने गरी म्याद थप गर्ने तयारी भइरहेको जनाएको छ ।

यसअघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वमा धरहरा निर्माणको काम हुँदै आएको थियो । गत ९ पुसबाट भने प्राधिकरणको विघटन भएपश्चात् सहरी विकास तथा भवन निर्माण विभाग मातहतमा धरहरा पुनर्निर्माणको काम हुँदै आएको छ ।

१२ वैशाख २०७२ को भूकम्पले भत्किएको धरहरा बाहिरबाट देखिँदा ११ तला र भित्रबाट २२ तलाको हुनेछ । धरहरा रहेको ४२ रोपनीमा विस्तारित रूपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजनाअनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएर धराहराको पुनर्निर्माण गरिरहेको हो ।

गोश्वारा हुलाक र टक्सार विभागको २३ रोपनी जग्गा खाली गरेर त्यहाँ पार्क बनाउन लागिएको छ । धरहरा परिसरमा म्युजियम, थिएटर, वाटर फाउन्टेन, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङ लगायतका सुविधा हुनेछन् ।

१९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले २ तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्