२७ जेठ २०८३, बुधबार

मधेश प्रदेशमा धेरै म्यादी प्रहरी, काठमाडौंमा कम

बैशाख १७, २०७९
मधेश प्रदेशमा धेरै म्यादी प्रहरी, काठमाडौंमा कम

सरकारले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई सुरक्षा संवेदनशीलताका आधारमा फिल्डमा खटाएको छ ।

प्रहरी प्रधान कार्यालयले मतदानस्थलको संवेदनशीलताका आधारमा संख्या बाँडफाँट गरेर ७ प्रदेश र उपत्यकामा फरक–फरक संख्यामा म्यादी प्रहरी परिचालन गरेको हो ।

सरकारले स्थानीय तह निर्वाचनका लागि १ लाख म्यादी प्रहरी भर्ना गरेको थियो ।

७ प्रदेश र काठमाडौं उपत्यकाका ३ जिल्लालाई फरक–फरक संख्या बाँडफाँट गरेर स्थानीय तह निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरीलाई फिल्डमा खटाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले जानकारी दिए ।

सबैभन्दा बढी म्यादी प्रहरी मधेस प्रदेशका आठ जिल्लामा खटाइएको छ । सो प्रदेशमा २१ हजार म्यादी खटाइएको छ ।

सबैभन्दा कम संख्यामा काठमाडौं उपत्यकाका तीन जिल्लामा म्यादी प्रहरी परिचालन गरिएको छ । काठमाडौं उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ४ हजार ७११ जना म्यादी प्रहरी खटाइएको हो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको विश्लेषण गरेर संख्या निर्धारण गरी सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसैगरी, प्रदेश १ का १४ जिल्लामा १७ हजार ४ सय २१ जना खटाइएको छ भने बाग्मती प्रदेशका काठमाडौं उपत्यकाबाहेकका १० जिल्लामा १२ हजार १ सय ८६ जना खटाइएको छ ।

यस्तै, गण्डकी प्रदेशका ११ जिल्लामा १० हजार ९ सय ३३, लुम्बिनीमा १२ जिल्लामा १५ हजार ८ सय २८ जना, कर्णाली प्रदेशका १० जिल्लामा १० हजार ७ सय ५३ जना र सुदूरपश्चिमका नौ जिल्लामा १० हजार १ सय ६१ जना म्यादी प्रहरी परिचालन गरिएको छ । सबै गरी ७७ जिल्लामा ९९ हजार ९ सय ९३ जना म्यादी प्रहरी स्थानीय तह निर्वाचन सुरक्षाका लागि खटाइएको हो । म्यादी प्रहरी ४० दिनका लागि परिचालन हुने बताइएको छ ।

म्यादीमा भर्ना हुनका लागि २ लाख ९३ हजार ३ सय १४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्येबाट ९९ हजार ९ सय ९३ जना छनोट गरेर तालिम दिइएको प्रहरी प्रवक्ता केसीले जानकारी दिए ।

म्यादी प्रहरीलाई गत २७ चैतमा नियुक्तिपत्र दिएको थियो । उनीहरूलाई स्थानीय तह निर्वाचन पूरा भएको ७ दिनपछिसम्म परिचालन गर्ने प्रहरीको योजना छ ।

म्यादी प्रहरीमा भर्ना हुन २ हजार ५ सय ४८ जना पूर्वसैनिकले समेत आवेदन दिएका थिए । आवेदन बुझाउनेमा ११ जना पूर्वमहिला सैनिक छन् । पूर्वप्रहरीबाट १६ महिलासहित एक हजार ४४७ जना र सशस्त्र प्रहरीबाट अवकाश लिएका ४ सय ९५ जनाले पनि म्यादीमा भर्ना हुन आवेदन दिएका थिए । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्