
काठमाडौं, २९ असार — कर्ट फोन बाडिन्स्की एक मेकानिकल इन्जिनियर हुन् र अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक प्राविधिक कम्पनीका सहसंस्थापक पनि । उनी दिनदिनै लस एन्जेलसबाट ६ घन्टाको यात्रा गर्छन् र अधिकांश समय विमानमा यात्रा गर्न खर्चन्छन् ।

हप्ताको पाँच दिन उनी बिहान साढे ५ बजे १५ मिनेटसम्म गाडी चलाएर बब होप बर्ब्यांक विमानस्थल पुग्छन् ।
त्यसपछि उनी डेढ घन्टा विमानमा बसेर ओकल्यान्ड पुग्छन् जुन उत्तरपूर्वतर्फ ५६८ किलोमिटर पर छ । मासिक दुई हजार तीन सय डलर तिरेर उनी एउटा सिंगल इन्जिन टर्बोप्रप विमानबाट असीमित उडान भर्छन् ।
पहिल्यै पृष्ठभूमि जाँच भइसकेकाले फोन बाडिन्स्कीले मेन टर्मिनल र नियमित सुरक्षा प्रक्रिया पार गरिरहनु पर्दैन अनि पार्क गरेको केही मिनेटभित्र उनी विमान चढ्छन् ।
उनी हावामा हुँदा इन्टनेट र मोबाइलको अवरोधविना नै काम गर्न सक्छन् । उनीजस्तै अन्य व्यवसायीहरू त्यही विमानमा यात्रा गर्छन् ।
दिनदिनै विमान चढ्दा वातावारणमा असर पुग्ने थाहा पाएकाले बाडिन्स्की बे एरियामा चाहिँ विद्युतीय गाडी चलाएर ओकल्यान्ड विमानस्थलबाट सान फ्रान्सिस्को पुग्छन् ।
यति टाढाको यात्रा गर्दा शरीरलाई मौसमअनुकूल पार्न थप चुनौती आइलाग्छ । लस एन्जेलसमा घाम लाग्दा सान फ्रान्सिस्कोमा चिसो र धुम्म हुन सक्छ । ‘यो यात्रा शुरु गरेको केही महिनामा म प्रायः बिरामी हुन्थें,’ उनी भन्छन् ।
फोन बाडिन्स्की बिहान साढे ८ बजे अफिस पुग्छन् र बेलुका ५ बजे हिँड्छन् । उनी सबा ७ बजे फर्किने विमान चढ्छन् । बर्ब्यांकस्थित घरमा उनी ९ बजेतिर पुग्छन् ।
‘६ घन्टा यात्रा गरेर पनि म आफूले चाहेजस्तो सबै काम गर्ने क्षमता राख्छु,’ उनी बताउँछन्, ‘म प्रत्येक दिनको शुरुवात उत्साहपूर्वक गर्छु ।’
बीबीसीबाट