२५ जेठ २०८३, सोमबार

कामु प्रधानन्यायाधीशलाई मानवअधिकारकर्मीको ध्यानाकर्षण, न्यायाधीश नियुक्तिमा मापदण्ड लागू गर्नुपर्नेमा जोड

कात्तिक २०, २०७४
कामु प्रधानन्यायाधीशलाई मानवअधिकारकर्मीको ध्यानाकर्षण, न्यायाधीश नियुक्तिमा मापदण्ड लागू गर्नुपर्नेमा जोड
काठमाडौँ, २९ असार । कायममुकायम प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग मानवअधिकार तथा शान्ति समाजको प्रतिनिधिमण्डलले आज भेट गरी न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शीलगायतका विषयमा समाजले अघि सारेको १० बुँदे अवधारणाबारे ध्यानाकर्षण गराएको छ । 

न्यायपालिकाका सबै तहमा उच्च प्रविधिको प्रयोग अवलम्बन गर्न, न्यायिक निकायका सबै कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्न, संवैधानिक परिषद्ले कुनै पनि पदमा नियुक्तिका लागि सिफारिस गर्दा कम्तीमा ३३ प्रतिशत महिलाको अनिवार्य व्यवस्था गर्न र न्यायाधीश नियुक्तिमा पनि यो मापदण्ड लागू गर्नुपर्नेमा प्रतिनिधिमण्डलले जोड दिएको थियो । 

व्यवस्थापिका र न्यायपालिकाको गरिमा र मर्यादा उचो राख्न सम्बन्धित निकायका नेतृत्व वर्गलगायतले विशेष ध्यान दिनुपर्नेमा ध्यानाकर्षण गराउँदै प्रतिनिधिमण्डलले विगतमाजस्तो न्यायपालिकाको नेतृत्वले सरकारको नेतृत्व गर्ने गलत उदाहरण भविष्यमा दोहोरिन नहुनेतर्फ स्मरण गराएको थियो । 

प्रधानन्यायाधीश निवास बालुवाटारमा भएको छलफलमा कावा प्रधानन्यायाधीश पराजुलीले आफ्नो प्राथमिकता नै न्यायिक स्वतन्त्रता र निष्पक्षता भएको र न्यायिक क्षेत्रको सुधारका लागि आफूले सक्दो प्रयास गर्ने बताउनुभयो । 

प्रतिनिधिमण्डलमा समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाईं, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेल, महासचिव उत्तम पुडासैनीसहित सहभागी हुनुहुन्थ्यो । रासस 
 

salt training

कमेन्ट गर्नुहोस्