
सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु गरी ४ वटा हिमालहरुको सफाई गर्ने उद्देश्यका साथ नेपाली सेनाको अगुवाइमा संचालित “सफा हिमाल अभियान २०२२” मा खटिएका नेपाली सेना तथा सेवा प्रदायकका टोलीहरु योजनानुसार आ-आफ्नो आधार शिविरमा पुगेका छन् ।
सफाइ अभियान अन्तर्गत सगरमाथा/ल्होत्सेमा खटिएका टोली वैशाख १ गते कञ्चनजंघामा खटिएका टोली ८ गते र मनास्लुमा खटिएका टोली ९ गते आधार शिविरमा पुगेका हुन् । आधार शिविरमा पुगेका टोलीहरुले आफ्नो बन्दोबस्ती तथा मिलापको व्यवस्था गरे पश्चात स्थानीय संस्कार अनुसारको पुजाआजा सम्पन्न गरेका छन् । बेश क्याम्प पुगे पश्चात उक्त टोलीहरुले फोहोर संकलन गर्ने कार्य शुरु गरेको नेपाली सेनाले जनाएको छ ।
हिमाल सफाई कार्यमा खटिएका टोलीहरुले स्थानीय सरकार, सरोकारवाला संघसंस्थाहरु र स्थानीयवासीहरुसँगको आवश्यक समन्वय एवं सहकार्यमा फोहोर संकलन कार्य जेष्ठ २२ गतेसम्म संचालन गर्नेछन् ।