१० असार २०८३, बुधबार

विदेशी मुद्रामा ऋण ल्याउँदै सरकारी बैंक

बैशाख १९, २०७९
विदेशी मुद्रामा ऋण ल्याउँदै सरकारी बैंक

उच्च शोधनान्तर घाटाका कारण विदेशी विनिमय सञ्चिति घटिरहेका बेला अर्थ मन्त्रालयले सरकारी स्वामित्वको बैंकलाई विदेशी मुद्रामा ऋण ल्याउन स्वीकृति दिएको छ ।

अर्थ मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंकलाई अधिकतम १० करोड अमेरिकी डलरसम्म वैदेशिक ऋण ल्याउन सहमति दिएको हो । यसअघि नेपाल राष्ट्र बैंकले निजी बैंकले विदेशबाट ऋण ल्याउन पाउने व्यवस्था गरेको थियो ।

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख रमेशकुमार केसीले अर्थको स्वीकृतिसँगै ऋण लिनका लागि प्रक्रिया अघि बढाउन बैंकलाई बाटो खुलेको बताए । राष्ट्रिय वाणिज्य बैंकका अनुसार सैद्धान्तिक सहमतिअनुरूप दुई किस्तामा उक्त ऋण लिने तयारी छ । अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर ऋण ल्याउने पनि बैंकले बताएको छ ।

प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आवश्यकताका आधारमा ऋण लिने प्रक्रिया यसै महीनाबाट शुरू गरिने बताए । ‘कति प्रतिशत ब्याजदरमा ऋण दिन को को इच्छुक छन् र कुन निकायसँग लिन सकिन्छ यसबारे आशयपत्रका लागि बोलपत्र आह्वान गर्दै छौं,’ उनले भने ।

उनका अनुसार राष्ट्रिय वाणिज्य बैंकले यसअघि विदेशबाट ऋण ल्याएको छैन । यो नै पहिलोपटक हो । केही समयअघि राष्ट्रिय वाणिज्य बैंकको साधारणसभालाई सम्बोधन गर्ने क्रममा अर्थमन्त्री जनार्दन शर्माले बैंकहरूलाई ऋण ल्याउन आफूले सहयोग गर्ने बताएका थिए । यसबाट बैंकिङ प्रणालीमा देखिएको तरलता संकट र विदेशी मुद्रा सञ्चितिमा गहिरिएको समस्या एकैपटक समाधान हुने विश्वास छ । तीन वर्षअघि पनि यस्तै तरलताको अभाव भएपछि ९ वित्तीय संस्थाले विदेशबाट ऋण ल्याएका थिए । मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रेे, ग्लोबल आईएमई र एनएमबी बैंकले विदेशबाट ऋण ल्याइसकेका छन् ।

यसैगरी, गतवर्ष निर्धन उत्थान, आरएमडीसी र मानुषी लघुवित्तले विदेशबाट ऋण ल्याएका थिए । अहिले पनि तरलता अभाव गहिरिएपछि वाणिज्य बैंक र लघुवित्तले विदेशबाट ऋण ल्याउन तयारी थालेका छन् । विदेशबाट रकम ल्याउन ग्लोबल आईएमई बैंकले बेलायतको विकास वित्त संस्था सीडीसी ग्रूपसँग समझदारी गरेको छ । बजारमा लगानीयोग्य रकम अभाव भएपछि स्रोत व्यवस्थापनको विकल्पमा राष्ट्र बैंकले २०७४ चैतमा बैंक तथा वित्तीय संस्थाले विदेशबाट परिवत्र्य विदेशी मुद्रामा ऋण ल्याउन सक्ने व्यवस्था गरेको थियो । यसअघि एनएमबी बैंकले आईएफसीबाट ऋण ल्याएको थियो । लक्ष्मी बैंकले दोहा बैंक, दुबईबाट वैदेशिक ऋण ल्याएको थियो ।

बैंकहरूले आफ्नो प्राथमिक पूँजीको शतप्रतिशतसम्म विदेशी बैंकबाट ऋण लिन सक्ने प्रावधान छ । आर्थिक अभियान दैनिकमा विजय दमासेले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्