०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

शर्त माने कांग्रेसले बागीलाई कारबाही नगर्ने, निजी विद्यालयले सातामा २ दिन बिदा नदिने

बैशाख १९, २०७९
शर्त माने कांग्रेसले बागीलाई कारबाही नगर्ने, निजी विद्यालयले सातामा २ दिन बिदा नदिने

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका प्रमुख समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ ।
००००
नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता नलिएका बागीहरूले अझै पनि विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिएर पार्टी तथा गठबन्धनले अगाडि सारेका आधिकारिक उम्मेदवारलाई सघाएमा कारवाही नगर्ने भएको छ ।
कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पार्टीको निर्देशनविपरीत उम्मेदवारी दिने व्यक्ति पार्टी विधानअनुसार स्वतस् निष्कासित हुने भएपनि आधिकारिक उम्मेदवारको पक्षमा वक्तव्य निकाल्ने बागी उम्मेदवारलाई पार्टीबाट निष्कासन नगरिने बताएका हुन् ।
‘हाम्रो विधानको व्यवस्थाअनुसार जसले पार्टीको निर्देशनविपरित उम्मेदवारी दिन्छ, त्यो स्वतस् निष्कासित हुन्छ । तर पनि कसैले प्राविधिक कारणले उम्मेदवारी फिर्ता लिन सक्नुभएन र अझै पनि पूरै समर्पित भएर आधिकारिक उम्मेदवारको पक्षमा प्रचारमा जानुहुन्छ भने विधानको जुन व्यवस्था छ, त्यसअनुसार कारवाही नगर्ने व्यवस्था हामी गर्छौ’, उनले भने । 
००००
सरकारले सशस्त्र प्रहरीको आईजीपी राजु अर्याललाई बनाउने निर्णय गरेको छ । आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा पदोन्नति गर्ने निर्णय गरेको खानेपानीमन्त्री उमाकान्त चौधरीले जानकारी दिए ।  यसैबीच सरकारले नेपाल प्रहरीको आईजीपीमा धीरजप्रताप सिंहलाई नियुक्त गरेको छ ।
००००
गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक (आईजीपी) को बिदाइ गरेको छ । 
सुरक्षा अंगमा ३० वर्षे सेवा अवधिका कारण अवकाश भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री र सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीलाई आइतबार बिदाइ गरिएको हो ।
बिदाइ समारोहमा गृहमन्त्री बालकृष्ण खाणले आम नागरिकको जीवनरक्षामा हरतरहले खटिने प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यस संगठनको सफल नेतृत्व गरेकोमा दुवै महानिरीक्षकलाई धन्यवाद तथा बधाई दिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई सेवाको भावनाबाट हेर्नुपर्नेमा जोड दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिकामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अध्यक्ष लिङ्देनले राजनीतिलाई पेसा बनाउने प्रचलन बढेकाले त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताए ।
००००
काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार नेकपा एमालेका केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहलाई अन्तर्राष्ट्रिय ठग भनेका छन् ।  काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफू काठमाडौंमै जन्मेको भनेर  स्थानीयवासीलाई ढाँटिरहेको आरोप लगाएका हुन् । 

‘एउटा फुच्चे बालेन शाह भन्ने रहेछ, त्यो त अन्तर्राष्ट्रिय ठग रहेछ, म काठमाडौंमै जन्मेको पहाडिया ठकुरी हुँ भन्छ क्या,’ उनले प्रश्न गरे, ‘मधेशको शाह रहेछ, शुरुमै ठग कुरा गर्ने ? काठमाडौंवासीलाई ढाँट्न पाइन्छ ? म मधेशको मान्छे भनेर आँट गरेर आउनुपर्दैन ?’
००००
नेपाली कांग्रेस (विपी)ले स्थानीय तह निर्वाचनका लागि देशभर १५४ उम्मेदवार मनोनयन दर्ता गरेको छ । कांग्रेस (विपी)ले आइतबार केन्द्रीय कार्यालय सामाखुसीमा पत्रकार सम्मेलन गरी यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा देशभरबाट १५४ उम्मेदवार उठाएको जानकारी दिएको हो । उक्त पार्टी २०७४ सालमा स्थापना भएको हो ।
००००
नेपाल चिकित्सक सङ्घले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ ।  सङ्घका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गरेका छन् ।
००००
निजी शैक्षिक संस्थाहरूले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीहरूमा मानसिक दवाद पर्ने र अध्ययन पाठ्यक्रम पनि समयमा अध्यापन गराउन नसकिने भन्दै निजी शैक्षिक संस्थाहरूले सरकारले निर्णय नमान्ने बताएका हुन् । 
सरकारले निजी शैक्षिक क्षेत्रसँग छलफल र परामर्श नगरी अचानक अव्यवहारिक निर्णय गरेको भन्दै उनीहरूले गुनासो समेत गरेका छन् । 
उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ नेपालका महासचिव लोकबहादुर भण्डारीले सरकारले  निजी शैक्षिक संस्थाहरूसँग बिना कुनै छलफल हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय नमान्ने बताए ।
००००
आइतबार मजदुर दिवस मनाइएके छ । यसैबीच नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै पूराना र नयाँ शहर श्रमिकको मेहनतबाट बनेको बताएका छन् ।
अन्तर्राष्ट्रिय मजदूर दिवसको अवसरमा  जिफन्टले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले मजदूरकै प्रयासका कारण सबै शहर अहिलेको अवस्थामा आएको उल्लेख गरे । 
फरक प्रसङ्गमा अध्यक्ष ओलीले अहिले काठमाडौँ महानगरपालिकामा प्रमुख र उपप्रमुख दुबै पदका उम्मेदवार सक्षम र सबल रहेको उनले दावी गरे । एकजना अनुभवी र अर्का युवा जोश भएकाले त्यो दुई कुराको संयोजन सकारात्मक रहेको उनले जिकिर गरे । दिवसको अवसरमा राष्ट्रपतिलगायत विशिष्ट व्यक्तिहरुले शुभकामना दिएका थिए । 
००००
गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई प्रमुखमा सघाउने भएको छ । 
चुनावी तालमेलअनुसार जसपालाई प्रमुख र कांग्रेसलाई उपप्रमुखमा सघाउने दुवै पक्षबीच सहमति भएको छ ।
००००
कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)ले इन्टरनेट सेवा ठप्प हुन नदिन सरोकारवालाहरूलाई आग्रह गरेको छ । एसोसियसनले आइतवार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा ठप्प हुन नदिन जिम्मेवार हुन सबैलाई आग्रह गरेको हो ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सरकारले वरियता र प्रक्रिया मिचेर नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको टिप्पणी गरेका छन् ।आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले आईजीपीमा धीरजप्रकाश सिंहलाई नियुक्ति गर्ने निर्णय गरेसँगै डा कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।
००००
नेपालको आर्थिक तथा भौतिक पूर्वाधारको विकासका लागि अमेरिकी सरकारबाट प्राप्त हुने सहयोग सम्झौता एमसीसी नेपाल राजपत्रमा प्रकाशित भएको छ । 

कूल ३१२ किलोमिटर लामो ४०० केभी क्षमताको प्रसारण लाइन र झण्डै १०० किलोमिटर लामो सडक परियोजना निर्माणका लागि अमेरिकाबाट प्राप्त हुने अनुदान सहयोगसम्बन्धी सम्झौता गत फागुन १५ गते प्रतिनिधिसभाले अनुमोदन गरेको थियो ।
००००
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले ‘देशभक्त जनवादी स्वतन्त्र उम्मेदवारहरूलाई मतदान गर्न’ अपिल गरेका छन् । 
स्थानीय चुनावमा एमसीसी एवं राष्ट्रघात विरोधी देशभक्त, जनवादी जनप्रतिनिधिहरूलाई सहभागी गराउने र सहयोग गर्ने नीति लिएको भन्दै उनले यस्तो अपिल गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्