काठमाडौं २९ असार– प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी एवं नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले महिलामाथि देशका विभिन्न स्थानमा भएका घटनावारे सरकारको ध्यानाकर्षण गराएकी छिन् ।

व्यबस्थापिका संसद्को बिहीवार बसेको बैठकको शुरुमै सभामुखसँग समय लिएर सांसद् राणाले महिला हिंसामा संलग्नमाथि कार्वाही गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
देशले ठूलो राजनीतिक फड्को मारेर राजनीतिमा प्रतिनिधित्व भएपनि महिला हिंसाका घटना नरोकिएको बताएका हुन् ।
नेपाली कांग्रेसको तर्फवाट वडा सदस्य बनेकी रुकुमकी बयानसरी कामीको हत्या, बाँकेको कोहलपुरमा श्रीमानले गर्भवती श्रीमतिको घाटी काटेको घटना लगायवारे उनले संसदमा ध्यानाकर्षण गराएकी हुन् ।
‘दैलेखमा छाउगोठमा बसेको बेला २१ बर्षकी तुलसा शाहीको सर्पको टोकाइबाट मृत्यु भएको सुन्न आएको छ’ राणाले भनिन, ‘सभामुखज्यू हामीले कहिलेसम्म यस्ता घटना सुन्ने यसलाई कसरी न्युन गरेर जाने, हत्याराको कार्वाहीको लागि सरकारको ध्यानाकर्षण गर्न चाहान्छु ।’