२५ जेठ २०८३, सोमबार

टोखामा ४० मतदान केन्द्र राखिने

बैशाख १९, २०७९
टोखामा ४० मतदान केन्द्र राखिने
प्रतिकात्मक तस्वीर

काठमाडौंको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ ।

काठमाडौंको उत्तरी क्षेत्रमा रहेको टोखामा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले जानकारी दिए ।

टोखामा विभिन्न ५६ पदका लागि २४६ जनाले उम्मेदवारी दिएका छन् ।

नगर प्रमुखमा १५, उपप्रमुखमा ६, वडाध्यक्षमा ५६, खुला वडा सदस्यमा ९४, महिला वडा सदस्यमा ४४ र दलित महिला सदस्यमा ३१ जनाको उम्मेदवारी परेको जोशीले बताए ।

जोशीका अनुसार कूल ५७ पदका लागि निर्वाचन हुनुपर्नेमा १ दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । उनले टोखा–२ का दलित महिला सदस्य लक्ष्मी हिङमाङ निर्विरोध निर्वाचित भएका जानकारी दिए । उनी नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार हुन् ।

टोखाको स्थानीय निर्वाचनका लागि १० राजनीतिक दलले भाग लिएका छन् भने अन्य स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।

सहायक निर्वाचन अधिकृत जोशीले पछिल्लो समय निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमन लगायत काम गरिरहेको बताए । साविक झोर महांकाल, टोखा चण्डेश्वरी, धापासी, गोंगबु लगायतका गाउँ विकास समितिलाई समेटेर निर्माण भएको टोखा नगरपालिकामा ११ वडा रहेका छन् । 

नगरपालिकामा स्थानीय तहको निर्वाचनका लागि कूल ३४ हजार ६७६ मतदाता रहेको निर्वाचन कार्यालय टोखाले जनाएको छ ।

टोखा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट रजनी थापा र उपप्रमुखमा मुरारी तामाङ तथा नेकपा एमालेको तर्फबाट प्रमुखमा प्रकाश अधिकारी र उपप्रमुखमा ज्ञानमाया डङ्गोलले उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्