
लामो समयदेखि बन्द रहेका उद्योग सञ्चालन गर्ने विषयमा अध्ययन गर्न कार्यदल गठन भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतमको संयोजकत्वमा 'रुग्ण उद्योग सञ्चालन तथा व्यवस्थापनसम्बन्धी’ कार्यदल गठन भएको हो ।
कार्यदलले अध्ययन गर्न एक महिनाको समय पाएको छ ।कार्यदलले उद्योगको अवस्थाबारे अध्ययन गरेर प्रतिवेदन पेस गर्नेछ ।
मन्त्रालयले बन्द रहेका रुग्ण उद्योगको अवस्था, बन्द हुनुको कारण, पुनः सञ्चालन हुने आधारबारे अध्ययन गर्न कार्यदल गठन गरेको हो । कार्यदलका संयोजक बाबुराम गौतमले भने, “उद्योगको अवस्था के छ, कति सञ्चालन गर्ने अवस्थामा छन् भनेर अध्ययन गर्न लागिएको हो ।”
सञ्चालन गर्न नसकिने उद्योगको दायित्व सरकारलाई हस्तान्तरण गरेर बन्द गर्नुपर्ने अथवा सञ्चालन गर्न सार्वजनिक प्रस्ताव आह्वान गरिने उनले जानकारी दिए ।
विभिन्न कारणले ती उद्योग लामो समयदेखि बन्द छन् । हाल रुग्ण अवस्थामा रहेका उद्योगहरूमा जनकपुर चुरोट कारखाना, बुटवल धागो कारखाना, हेटौँडा कपडा उद्योग, नेपाल मेटल कम्पनी लिमिटेड, गोरखकाली रबर उद्योग, नेपाल ओरेन्टल म्याग्नेसाइट रहेका छन् ।
यस्तै नेपाल औषधि लिमिटेड, विराटनगर जुट मिल, वीरगञ्ज चिनी कारखानालगायतका उद्योग छन् । निजीस्तरका धेरै उद्योग सञ्चालन नभई बन्द अवस्थामा छन् । मन्त्रालयका अनुसार राजनीतिक, व्यवस्थापकीय कमजोरीका कारण ती उद्योग एक/दुई दशकदेखि नै बन्द छन् । गोरखापत्र दैनिकमा लक्ष्मी सापकोटाले खबर लेखेकी छन् ।