
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–
स्थानीय तह निर्वाचनमा नेकपा एमालेका सबैभन्दा धेरै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । हालसम्म कुल ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुँदा एमालेका मात्रै एक जना अध्यक्ष र २ जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । यस्तै वडाध्यक्षमा १४, सदस्यमा २६ तथा महिला सदस्यमा २३ जना निर्विरोध भएका छन् ।
यस्तै दलित महिला सदस्यमा ५७ जना निर्विरोध भएका छन् । त्यसपछि काँग्रेसका धेरै उम्मेदवार निर्विरोध भएका छन् । काँग्रेसले एक उपाध्यक्षसहित वडाध्यक्ष १४, सदस्य ३१, महिला सदस्य १५ र दलित महिला सदस्य पद ४० स्थानमा जितेको छ ।
यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष ३, सदस्य ५, महिला सदस्य ७ र दलित महिला सदस्य ३९ पदमा जितेको छ ।
यसैगरी एकीकृत समाजवादी पार्टीले २ अध्यक्ष एक उपाध्यक्षसहित वडाध्यक्ष ६, सदस्य १२, महिला सदस्य ७ र दलित सदस्य ६ पद जितेको छ । निर्वाचन आयोगले निर्विरोध हुनेको विवरण अझै प्राप्त हुने क्रममा रहेकाले यो संख्या अझै बढ्न सक्ने जनाएको छ । यसैगरी निर्वाचनमा १४९ दलित महिला सदस्यको उम्मेदवारी नै नपरेको निर्वाचन आयोगले जनाएको छ ।
कूल ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवार हुनुपर्नेमा १४९ पदमा भने उम्मेदवारी नै नपरेको आयोगले जनाएको हो ।
००००
नेकपा माओवादी केन्द्र प्रदेश नम्बर १ कमिटीले बागी उम्मेदवारी दिने तथा फिर्ता नलिने १४ जनालाई कारबाही गरेको छ। पार्टीको निर्देशन र नीति विपरित जाने उनीहरुलाई पार्टीले अनुशासनको कारबाही गरेको हो ।
पटकपटक सचेत गराउदा पनि पार्टीको निर्देशन नमानेकाले पार्टी विधान अनुरुपको कसुर ठहर गरी निलम्वन तथा कारबाही सिफारिस गरिएको पार्टी अध्यक्ष हर्कबहादुर नेम्वाङले जानकारी दिए ।
००००
नेपाली कांग्रेसले पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने प्रतिबद्धतासहित सक्रिय रहने विद्रोही उम्मेदवारउपर पार्टी विधानबमोजिम हुने कारबाहीमा पुनःविचार गर्न सकिने जनाएको छ ।
कांग्रेसले एक विज्ञप्तिमार्फत यही वैशाख २१ गतेभित्र आफ्नो उम्मेदवारी निष्क्रिय गरी पार्टीका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन सहयोग गर्ने विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकको कारबाहीमा पुनः विचार गर्न सक्ने जनाएको हो ।
००००
गोरखामा जन्ती बोकेको स्कार्पियो जिप दुर्घटनामा परी सोमबार साँझ तीनजनाको मृत्यु भएको छ । चितवनबाट जन्ती लिएर आएको जिप फर्कने क्रममा सिरानचोक गाउँपालिका–५, आरुबोटेमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिए ।
००००
सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षक राजु अर्यालले प्रहरी कर्मचारीको सरुवा, बढुवा, मिशनलगायतका कार्यहरु वैज्ञानिक र पारदर्शी ढङ्गले अगाडि बढाउँदै सङ्गठन सुदृढीकरणमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
काठमाडौँको हलचोकस्थित सशस्त्र प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि आयोजित समारोहमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्बोधन गर्दै उनले कार्यक्षेत्रमा परिचालित रहँदा फौजी संस्कारको बर्खिलापमा नलाग्न निर्देशन दिए ।
यसैबीच नेपाल प्रहरीका आईजीपी धिरजप्रताप सिंहले पनि दर्ज्यानी चिह्नसहित पदभार ग्रहण गरेका छन् ।
००००
सर्वोच्च अदालतमा प्रहरी महानिरीक्षक (आईजीपी) पदमा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध रिट निवेदन दायर गरिएको छ ।
नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले दायर गरेको रिट निवेदनमा आफूभन्दा डेढ वर्ष कनिष्ठलाई बढुवा गर्ने सरकारको निर्णय बदर गर्न माग गरिएको छ ।
००००
स्थानीय निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि १ करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौंबाट एकैदिनमा ढुवानी गर्न सकिने मधेश प्रदेश र बागमती प्रदेशका केही जिल्लामा ढुवानी गर्न बाँकी रहेको छ ।
००००
स्थानीय निर्वाचनको मिति नजिकिएका समयमा इन्टरनेट सेवा प्रदायक संघ नेपालले आगामी हप्तादेखि इन्टरनेट सेवा बन्द हुनसक्ने भनी दिएको चेतावनीप्रति निर्वाचन आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकता समेत भइसकेको विदितै छ । इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिककको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छ,’ आयोगको विज्ञप्तिमा भनिएको छ, ‘मुलुकभर सबै स्थानीय तहमा एकैपटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको व्यवस्थापनमा गम्भीर असर पर्ने भएकाले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोग निर्देशन दिन्छ ।’
००००
पछिल्लो २४ घण्टामा ९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चार हजार २५५ नमूना परीक्षणमध्ये ९ जनामा संक्रमण देखिएको हो । पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्मको मृत्यु संख्या ११ हजार ९५१ छ ।
मन्त्रालयका अनुसार थप १८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २११ सक्रिय संक्रमित छन् ।
००००
सोमवार शेयर बजारमा ठूलो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ४८.७३ अंकले घट्दै २३०७.४४ विन्दुमा झरेको छ ।
यस दिन सेन्सेटिभ परिसूचक ८.४५ अंकले घट्दै ४४१.७९ विन्दुमा झरेको छ । सोमवार २२८ कम्पनीको ३९ लाख ७८ हजार ०७९ कित्ता शेयर १ अर्ब ४२ करोड ३४ लाख ९८ हजार २९२ रुपैयाँमा कारोबार भएको छ ।
००००
नेकपा एमालेबाट काठमाडौंका मेयर उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ ।
स्थपितले विभिन्न ठाउँमा दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको उजुरी आएपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।