२५ असार २०८३, बिहीबार

उद्योगहरूमा प्राधिकरणले दियो विद्युत, विकासका मुद्दा एमालेसँग मात्रै रहेको उपाध्यक्ष पौडेलको दाबी

बैशाख २१, २०७९
उद्योगहरूमा प्राधिकरणले दियो विद्युत, विकासका मुद्दा एमालेसँग मात्रै रहेको उपाध्यक्ष पौडेलको दाबी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य समाचारसहित नियमित प्रस्तुती लिएर उपस्थित भएका छौँ–

विगत केही दिनदेखि औद्योगिक क्षेत्रमा लगातार विद्युत् अवरुद्ध भएपछि मोरङ व्यापार सङ्घ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले आन्दोलन चेतावनी दिएपछि विद्युत् प्राधिकरण सहमतिमा आएको छ । 

दुई सङ्गठनले मङ्गलबारसम्म पनि लोडसेडिङबारे कुनै समाधान नआए बुधवारदेखि चरणबद्ध आन्दोलनमा जाने स्पष्ट पारेपछि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समस्या समाधान गरेका हुन् । 

घिसिङले निजी क्षेत्रसँग छलफल गरी भविष्यमा औद्योगिक क्षेत्रलाई विद्युतको संकट आउन नदिने विषयमा प्रतिबद्धता जनाउँदै मंगलवारदेखि विद्युत् प्रसारण समेत सुचारु गराएका छन् । प्राधिकरणले बिजुली दिएपछि उद्योगी व्यवसायीहरू उत्साही  भएका छन् । साथै प्राधिकरणको यस कार्यको लागि प्रशंसा सहित धन्यवाद ज्ञापन उद्योगीहरूले गरेको छन् । 

‘मुलुकमा रहेको विद्यमान ऊर्जाको सङ्कटको अवस्थामा सबै क्षेत्रलाई न्यायोचित र समान वितरण गरी सबैको काममा अवरोध नहुने व्यवस्था गर्ने प्राधिकरणको प्रतिबद्धता पछि हामीले भोलिदेखि गरिने भनिएका चरणबद्ध आन्दोलनहरू हाललाई स्थगित गरिएको सबैमा जानकारी गराउन चाहन्छौँ’, उद्योगीहरूले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

०००

नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल आफ्ना उम्मेदवारलाई जिताउन घरदैलो अभियानमा जुटेका छन् ।

उनी मंगलवार बुटवल उपमहानगरपालिका–११ का विभिन्न टोलमा पुगेर एमालेका सबै उम्मेदवारलाई जिताउन मतदातासँग मत माग्दै घरदैलोमा सहभागी भएका छन् ।

सो अवसरमा बोल्दै नेता पौडेलले एमालेप्रति जनताको असाधारण उत्साह रहेकाले एमालेको जीत सुनिश्चित रहेको बताए । विकास र जनताका सरोकारका मुद्दा एमालेसँग मात्र रहेको जनताले बुझेको बताउँदै उनले एमालेका उम्मेदवारलाई जिताउन जनता आतुर रहेका दाबी गरे ।

बुटवलको सबै सुकुम्बासी समस्या स्थायी रूपमा समाधान गर्ने नेता पौडेलको भनाइ छ ।

‘एमाले नेतृत्वको सरकारले अव्यवस्थित बसोबासी र सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरणका सबै प्रक्रिया पूरा गरेको भए पनि सरकार ढलेपछि त्यो काम रोकिन पुग्यो,’ नेता पौडेलले भने, ‘अहिलेको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरेर अन्तिम समयमा रोकिन पुगेको छ । अहिलेको सरकारले सुकुम्बासीका समस्याप्रति कुनै तत्परता देखाएको छैन । एमाले नेतृत्वको सरकार बनेपछि पूर्जाविहीन नगरवासीलाई जग्गाधनी बनाउँछौं ।’

०००

विराटनगरको ऐतिहासिकतालाई जोगाई विकसित र दोस्रो ठूलो शहरको रुपमा विकास गर्ने महानगरका प्रमुख पदका उम्मदेवारहरुले बताएका छन् ।

विकल्प अल्टरनेटिभद्वारा मंगलवार आयोजित विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारसँग गरिएको अन्तरक्रियामा उनीहरुले महानगरमा बालवालिकाका लागि पुस्तकालय, गुणस्तरीय सामुदायिक विद्यालय, अनुसन्धानका लागि बजेटको व्यवस्था, दुव्र्यसन मुक्त शहर निर्माणलगायत धारणा राखे । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार प्रल्हादप्रसाद साहले यस क्षेत्रमा औद्यागिक वातावरण तयार गरी रोजगारी सिर्जना गर्ने योजना सुनाए ।

यस्तै विवेकशिल साझा पार्टीका अमलेश कर्णले शिक्षित युवालालाई स्वरोजगार बनाउने, न्यून ब्याजदरमा ऋण उपलव्ध गराउनुका साथै विराट राजाको दरबार संरक्षण गरी धार्मिक पर्यटक आकर्षित गर्ने योजना अघि सारे ।

नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले महानगरलाई भ्रष्टाचार शून्य बनाउने प्रतिबद्धता व्यक्त गर्दै नगरवासीले तिरेको राजश्व नगरकै विकासमा खर्च गरिने धारणा राखे । नेकपा (एमाले) का उम्मेदवार सागर थापाले रुग्ण उद्योग सञ्चालनको वातावरण सिर्जना गरी रोजगार वृद्धि गर्नुका साथै महानगरलाई स्वास्थ्य उपचार केन्द्रको रुपमा विकसित गरिने बताए ।

०००

नेकपा एकता राष्ट्रिय अभियानका संयोजक तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेकपा (एस)का लागि चुनावी गीत लेखेका छन् ।

नेकपा (एस)को चुनाव चिह्न कलममा भोट हाल्न अपिल गरिएको गीतको शब्द गौतमले लेखेका हुन् ।

जुन गीत युट्युबमार्फत आज सार्वजनिक गरिएको छ ।

मुस्लिम इतेहात संगठन नेपालको प्रस्तुति रहेको गीतको बोल ‘जनता जगाउने कलममा छाप लगाउने’ रहेको छ ।

यसमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर छ । संगीत कृष्ण केसीको रहेको छ ।

कतै नखुलेका वामदेवले यो चुनावी गीत लेख्नुलाई उनी नेकपा (एस)तिर ढल्किएको हो कि भन्ने अनुमान लगाउन थालिएको छ ।

०००

काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार केशव स्थापितले पीडित भनिएकी रस्मिला प्रजापतिमाथि आपत्तिजनक टिप्पणी गरेका छन् ।

मंगलवार काठमाडौं महानगरपालिका-१ मा गरिएको अन्तरक्रिया कार्यक्रममा उनले थप कुरा खोले भने प्रजापतिले आत्महत्या गर्ने बताएका हुन् । ‘अनुचित काम गर्ने मान्छेले अस्थायी कर्मचारीलाई त आज मानेन आजै, भोलि मानेन भोलि नै निकाल्छ होला नि, ५ वर्षसम्म केही भएन,’ उनले भने, ‘उहाँको बारेमा थप कुरा खोले भने आत्महत्या नै गर्नुहुन्छ, त्यही भएर चुप लागेको । तर, हुँदै नभएको दोष बोक्नु पनि त भएन ।’

साथै प्रजापतिलाई हटाउनुमा आफ्नो कुनै दोष नरहेको बताएका हुन् । उनले प्रजापतिमाथि कुनै अनुचित क्रियाकलाप नगरेको पनि स्पष्टीकरण दिएका छन् ।

०००

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सबलीकरणमा लागि मर्यादित र व्यवसायीक लेखा परिक्षण हुनुपर्ने बताएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले राजधानीमा आयोजना गरेको प्रथम राष्ट्रिय लेखा व्यवसायी सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शर्माले सम्पूर्ण सम्पत्तिको सही लेखा जोखा गर्नुपर्ने दायित्वबाट लेखा परीक्षक विमुख हुन नहुने बताए ।

कुनै पनि व्यवसाय वा सम्पत्तिको लेखा परिक्षण गर्ने क्रममा जोड–घटाउमा थोरै मात्र तलमाथि भए राष्ट्रिय अर्थतन्त्रमा नै असर गर्नेतर्फ लेखा परीक्षकहरूलाई ध्यान दिन उनले आग्रह गरे ।

‘जोड गर्नुपर्ने ठाउँमा घटाउ राखियो वा घटाउनुपर्ने ठाउँमा भाग वा गुणा गरियो भने त्यसले हिसाब मात्रै बिगार्दैन, राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो असर गर्छ भन्ने कुरामा तपाईहरु (लेखा परीक्षक) ले ख्याल राख्नुहोला,’ उनले भने ।

०००

इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा अवरोध नगर्ने भएको छ ।

सरकारसँगको सहमतिपछि संघले इन्टरनेट सेवा अवरोध नगर्ने संघका अध्यक्ष सुधिर पराजुलीले लोकान्तरलाई जानकारी दिए ।

भारतीय कम्पनीलाई बुझाउनुपर्ने भुक्तानीमा सरकारले सहजीकरण गर्ने सहमति सोमवार संघ र सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबीच भएको छ ।

सरकारले भुक्तानीमा सहजीकरण गर्ने भएपछि इन्टरनेट अवरोध गर्नु नपर्ने अध्यक्ष पराजुलीले बताए ।

‘हामीले सरकारसँग सहमति गरेका छौँ, अब इन्टरनेट अवरोध गर्नुपर्ने अवस्था आउँदैन,’ अध्यक्ष पराजुलीले भने ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरूले भारतको टाटा, एयरटेल र सिफ्फीबाट व्यान्डविथ खरिद गर्दै आएका छन् । इन्टरनेट सेवा प्रदायकहरूको बेरुजुलाई देखाउँदै मन्त्रालयले भुक्तानीका लागि चाहिने विदेशी मुद्रा सिफारिस रोकेपछि भारतीय कम्पनीहरुले इन्टरनेट रोकिन सक्ने बताएका थिए ।

यस विषयमा इन्टरनेट सेवा प्रदायक र मन्त्रालयबीच निरन्तर छलफल भइरहेको थियो । 

मंगलबारदेखि भुक्तानीमा सहजीकरण हुने भनिएपनि सार्वजनिक बिदा परेकाले भुक्तानी शुरू बुधवारबाट हुनेछ ।

नेपालका झन्डै २० वटा कम्पनीले भुक्तानी गर्न बाँकी छ ।

०००

अभिनेता भुवन केसी र अभिनेत्री स्वेता खड्का कांग्रेस प्रवेश गरेका छन् ।

मंगलवार उनीहरूलाई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले टीका लगाएर स्वागत गरेका हुन् ।

यसअघि भुवन राप्रपा प्रवेश गर्ने पनि हल्ला चलेको थियो । उनी २०७० सालमा एमाले प्रवेश गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्