
बुधवार बिहानै आन्तरिक टर्मिनल यात्रुहरूले भरिभराउ थियो । आफ्नो गन्तव्यमा जानलाई केही यात्रुहरू टिकट लिइरहेका थिए भने केही यात्रु जहाजको पर्खाइमा बसेका थिए ।
बिहान १०ः४५ मिनेटमा पाकिस्तानी नम्बरबाट एक अपरिचित व्यक्तिले फोन गरे । हिन्दी भाषामा कुरा गरेका उनले वालेकुम अस्सलाम भन्दै आन्तरिक टर्मिनलमा बम रहेको बताए । त्यसको एक मिनेटपछि र १०ः५१ मा फेरि अर्को फोन आयो । फोन गर्ने व्यक्तिले त्यही कुरा दोहोर्याए ।
विमानस्थलको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरूले तत्कालै सबै यात्रुहरूलाई सुरक्षित बाहिर निकाले । साथै उडानमा पनि रोकियो ।
‘आन्तरिक टर्मिनलमा बम राखिएको भनेर पाकिस्तानी नम्बरबाट तीन पटक फोन आयो,’ विमानस्थलमा महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘हामीले तत्कालै विमानस्थल खाली गर्यौँ, उडान पनि रोक्यौँ ।’
त्यसपछि शुरू भयो बम खोज्ने कार्य । त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोली र कुकुरलाई परिचालन गरियो ।
तर, बम भने कतै फेला नपरेपछि पुनः विमानस्थल सञ्चालनमा ल्याइएको महाप्रबन्धक ठाकुरले जानकारी दिए । उनका अनुसार अहिले अवस्था सामान्य बन्दै गएको छ ।
यसको अनुसन्धान भने जारी रहेको उनले बताए ।