काठमाडौँ, २९ असार - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजनीतिज्ञ विश्वबन्धु थापालाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् ।

अध्यक्ष थापाले पार्टीको विधानअनुसार उनलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको पार्टी प्रवक्ता भुवन पाठकले जानकारी दिए । पार्टीमा १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा त्यसको ६० प्रतिशत चुनावबाट तथा ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ । पार्टीको एकता महाधिवेशनपछि अध्यक्ष थापाले विभिन्न समयमा नेताहरुलाई मनोनयन गर्दै गएका छन् । अब ४८ केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।
विसं २००७ को प्रजातान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थापाले नेपाली काँग्रेसमा समेत रही राजनीति गरेका थिए । पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आगामी साउन ४ गते काठमाडौँमा बस्ने भएको छ ।