
नेपाली कांग्रेसले आफ्ना भातृ संगठनहरूलाई पूर्वनिर्धारित अधिवेशन तथा महाधिवेशनहरू स्थगित गर्न निर्देशन दिएको छ ।
वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि प्रचारप्रसारलगायतका काममा क्रियाशील रहनुपर्ने भएकाले निर्वाचन आसपासमा अधिवेशन गर्न सम्भव नभएको भन्दै हाललाई स्थगित गर्न कांग्रेसले निर्देशन दिएको हो ।
निर्वाचनमा पार्टीका सम्पूर्ण सांगठिनक संरचनाहरू, भातृ संघहरू, शुभेच्छुक संस्थालगायत विदेशस्थित जनसम्पर्क समितिहरूसमेत क्रियाशील रहेको कांग्रेसले जनाएको छ ।
स्थानीय तह निर्वाचनको अन्तिम परिणाम आएपछि मात्रै आ–आफ्नो कार्यसमितिको बैठक बसेर अधिवेशन/महाधिवेशनको कार्यतालिका तय गर्न भातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई कांग्रेसले निर्देशन दिएको हो ।
