०७ असार २०८३, आइतबार

अनुसन्धान विभागको निरीक्षण गर्दै गृहमन्त्री खाणले भने- निर्वाचनलाई स-साना घटनाले प्रभाव पार्छ, समयमै सूचना दिनू

बैशाख २५, २०७९
अनुसन्धान विभागको निरीक्षण गर्दै गृहमन्त्री खाणले भने- निर्वाचनलाई स-साना घटनाले प्रभाव पार्छ, समयमै सूचना दिनू

गृहमन्त्री बालकृष्ण खाणले सत्यतथ्य सूचना समयमै प्राप्त गरेमा मात्रै अकल्पनीय घटना घट्न नदिन र घटना घटिहालेमा पनि समस्या समाधानका लागि तत्काल रणनीति बनाउन सक्ने बताएका छन् । 

आइतवार राष्ट्रिय अनुसन्धान विभागको निरीक्षणपछि गृहमन्त्री खाणले सत्यतथ्य सूचना जतिसक्यो छिटो सरकारसम्म पुर्‍याउन राष्ट्रिय अनुसन्धान विभाग प्रविधियुक्त, सक्षम र सवल हुनुपर्ने बताए । 

नेपालमा राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिकलगायतका घटनाक्रम र त्यसले पार्न सक्ने प्रभावबारे विश्लेषणसहितको सूचना बेलैमा पाएमा मात्रै त्यसलाई रोक्न सरकारले रणनीति बनाउन सक्ने उनको भनाइ थियो । 

अनुसन्धान विभागले राष्ट्रिय, अन्तर्राष्ट्रिय सूचना र त्यसले पार्ने प्रभावको विश्लेषण सरकारलाई अहिलेसम्म उपलब्ध गराउँदै आएको र आगामी यो भन्दा प्रभावकारी सूचना र विश्लेषण सरकारलाई दिने विश्वासमा सरकार रहेको बताए । 

‘विश्वमा प्राकृतिक स्रोत साधनको उपयोग, राजनीतिक, सामाजिक, आर्थिक, आपराधिक, र प्रविधिबारे के-कस्ता नयाँ सूचना के आएका छन् । त्यसको प्रभाव के पर्छ ? यसबारे राष्ट्रलाई जानकारी हुनु आवश्यक छ,’ गृहमन्त्री खाणले भने, ‘यसबारे बेलैमा सत्यतथ्य सूचना अनुसन्धान विभागले राज्यलाई दिइरहेको छ । आगामी दिनमा अझ प्रभावकारी सूचना दिने विश्वासमा सरकार छ ।’

राज्यलाई तत्कल सथ्यतथ्य सूचना उपलब्ध गराउने अनुसन्धान विभाग अमूल्य अंग भएको गृहमन्त्री खाणले बताए । 

अनुसन्धान विभाग कमजोर भएमा मुख्यगरी राज्यको सूचना प्रणाली कमजोर हुने र सूचना प्रणाली कमजोर भए समग्र राज्य प्रणाली कमजोर हुने गृहमन्त्री खाणले बताए । 

लोकतान्त्रिक शासन व्यवस्थामा आवधिक रूपमा सरकार परिवर्तन हुन स्वभाविक भए पनि सरकार परिवर्तनले विभागलाई असर पार्न नहुने उनको भनाइ थियो । 

मुलुक स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा रहेको बताउँदै उनले निर्वाचनलाई स–साना घटनाले प्रभाव पार्ने बताए । घटना घट्न सक्ने पूर्वानुमान र घटना घटिहालेमा समयमै सूचना प्राप्त भएमा तत्काल समाधान खोज्ने रणनीति बनाउन सकिने भन्दै उनले त्यो काम अनुसन्धान विभागले गर्न सक्ने बताए । 

गृहसचिव टेकनारायण पाण्डेले पछिल्लो समय प्रविधिको विकाससँगै सुरक्षा चुनौती बढेको भन्दै त्यो चुनौतीलाई तत्काल समाधान गर्न सत्यतथ्य सूचना बेलैमा आइपुग्न आवश्यक रहेको बताए । 

उनले राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधिको प्रयोग गरी सबै स्थानका सूचना एकै स्थानमा बसेर संकलन गर्ने संयन्त्रको विकास गर्नतर्फ लाग्न आग्रह गरे । अनुसन्धान विभागले उपलब्ध गराउने सूचना अझ परिस्कृत गर्न आवश्यक रहेको उनको भनाइ थियो । 

गृहमन्त्री खाण र गृहसचिव पाण्डेसहितको टोलीलाई विभागका मुख्य अनुसन्धान अधिकृत यदुलाल खरेलले विभागको वर्तमान अवस्था र इतिहास, विभागका जिम्मेवारी, अहिलेका सुरक्षा चुनौती र सरकारले गर्नुपर्ने कामबारे अवगत गराएका थिए । 

कमेन्ट गर्नुहोस्