
गत स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिकाको प्रमुखमा २४.१० प्रतिशत र उपप्रमुखमा ४१.७७ प्रतिशत मत बदर भएको थियो ।
महानगरका एक लाख १३ हजार ७६१ मतदातामध्ये ७०.९६ प्रतिशत अर्थात् ८० हजार ७२४ जनाले विराटनगरको चौथो मेयरका लागि मतदान गरेका थिए ।
अघिल्लो चुनावमा यति धेरै मत बिग्रँदा पनि मत बदर घटाउन भने कसैले ध्यान दिएका छैनन् । निर्वाचन आउन अब एक हप्ता पनि बाँकी छैन । यस पटकको चुनावमा भने उम्मेदवार तथा निर्वाचन आयोगले मत बदर घटाउन कुनै पनि योजना ल्याएका छैनन् ।
उम्मेदवारहरू आएर चुनाव चिह्न चिनाए पनि भोट हाल्ने तरिका भने कसैले नसिकाएको विराटनगर-१५ कि अञ्जना शर्मा बताउँछिन् । ‘यसपटक मतपत्रसमेत लामो रहेछ,’ शर्माले भनिन् ‘पट्याउँदासमेत छाप अन्यत्र लागेर बिग्रन्छ भन्छन् तर सिकाउन भने कोही आउँदैनन् ।’
पहिलो पटक मतदान गर्नेलाई अझ धेरै समस्या हुने उनको भनाइ छ ।
गत चुनावमा मतदातालाई बुझाउन नसकेको कारण महानगरमा बनेका दुई गठबन्धनका धेरै मत बदर भएकै कारण उनीहरूले चुनावमा पराजय भोग्नु परेको थियो । अहिले पनि गठबन्धनकै धेरै मत बदर हुने अनुमान गरिएको छ ।
गठबन्धनका उम्मेदवार तथा नेताहरूले आ-आफ्नो चुनाव चिह्न देखाए पनि मत हाल्दा बिग्रन सक्छ भनेर कसैले नसिकाएको विराटनगरकै प्रदीप शाह बताउँछन् । अँगालो हालेर मत मागे पनि भोट कसरी हाल्ने भन्ने अन्योल धेरैमा रहेको उनको भनाइ छ ।
‘भोट बदर हुँदा जित्नुपर्ने उम्मेदवारले हारिरहेको हुन्छ,’ उनले भने, ‘अनि विकास भएन भनेर बस्नु भन्दा अन्य विकल्प केही पनि छैन ।’ दलहरूलाई कार्यकर्ता परिचालन गरेर मतदाता शिक्षामा जोड दिन समेत उनले आग्रह गरे ।
२०७४ सालको निर्वाचनमा एमाले–लोकतान्त्रिक र संघीय समाजवादी फोरम–माओवादीबीच गठबन्धन भएको थियो । अलग–अलग चुनाव चिह्नमा मतदान गर्नुपरेका कारण धेरै मत बिग्रिएको थियो ।
मतदातालाई बुझाउन नसक्दा उनीहरूको माया पाएर पनि चुनाव जित्न नसक्ने अवस्था बन्दा पनि दलहरूसमेत कार्यकर्ता परिचालन गरेर मतदातालाई भोट हाल्न सिकाउने, मतपत्र पट्याउन सिकाउने जस्ता काम भने सिकाइरहेका छैनन् । दलहरूले मतदातालाई सिकाए मात्रै मत बदर कम हुने शर्मिला राई बताउँछिन् ।
गठबन्धनदेखि एकल उम्मेदवारी दिएकाले समेत कार्यकर्ता खटाएर मतदाता शिक्षा सिकाएका छैनन् । मतदानको दिन आउन लाग्दासमेत मतदाता शिक्षामा कार्यकर्ता परिचालन गर्न नसकेका दलहरू मतदाता शिक्षामा ध्यान दिने बताउँछन् । घरदैलो सकिएकोले अब मतदाता शिक्षामा ध्यान दिने एमाले मोरङका सचिव रुपेश खतिवडाले बताए ।
गत वर्ष मत धेरै बदर भएकाले प्रचारमा भन्दा मतदाता शिक्षालाई पहिला प्राथमिकता दिएको उपप्रमुख पदकी स्वतन्त्र उम्मेदवार नमिता न्यौपाने बताउँछिन् ।
निर्वाचन आयोगले पनि मतदाता शिक्षालाई प्राथमिकता दिएको छैन । आयोग पनि मतदातामा चेतना आएको भन्दै आफू पन्छन खोजिरहेको छ । सामाजिक सञ्जाल तथा मिडियाबाट मतदाता शिक्षा दिइरहेको निर्वाचन कार्यालय प्रदेश १ का सचिव लेवन काश्यप अधिकारी बताउँछन् ।
गत चुनावमा माओवादी–संघीय समाजवादी फोरमका प्रमुखका उम्मेदवार उमेश यादव र उपप्रमुखका उम्मेदवार नमिता न्यौपानेलाई सबैभन्दा बढी क्षति पुगेको थियो ।
माओवादीका कार्यकर्ताले हँसिया हथौडामा ७ छाप लगाएर प्रमुखमा मसाललाई पनि र फोरम कार्यकर्ताले ७ छाप मसालमा लगाएर उपप्रमुखमा हँसिया हथौडामा छाप हान्दा बदर भएको थियो ।
मतदाता शिक्षाको अभाव र दलहरूबीच गठबन्धनका कारण विराटनगर महानगरपालिकाको निर्वाचनमा धेरै मत बदर भएको स्थानीय अगुवाहरू बताउँछन् । उपप्रमुखमा ४७ हजार ९ मत सदर भएकोमा ३३ हजार ७१५ मत बदर भएको थियो । यस्तै उम्मेदवार नभएको चिह्नमा छाप हानेका कारण पनि धेरै मत बदर भएको थियो ।
महानगरमा गठबन्धन बनाएका नेकपा एमाले र लोकतान्त्रिक फोरमको मत पनि बदर भएको थियो ।
त्यसबेला एमालेले उपप्रमुखमा लोकतान्त्रिकका फोरमलाई सघाएको थियो भने लोकतान्त्रिक फोरमले मेयरमा सघाएको थियो । उपमेयरमा एमालेले नउठाए पनि आठ वटा सूर्य चिह्नमा सात छाप आएको थियो भने लोकतान्त्रिक फोरमको चुनाव चिह्न नमस्कारमा पनि मत आएको थियो । यस्तै लोकतान्त्रिक मतदाताले प्रमुख पदमा सूर्य र नमस्कार दुवैमा मत खसाल्दा बदर भएको थियो ।
विजेताले पाएभन्दा बढी मत बदर भएको थियो । खसेको कुलमध्ये प्रमुखमा ६१ हजार २७० मत सदर भयो भने १९ हजार ४५४ मत बदर भएको थियो ।
यस्तै उपप्रमुखमा ४७ हजार ९ मत सदर भएकोमा ३३ हजार ७१५ मत बदर भएको थियो ।
फोरमबाट प्रमुखका उम्मेदवार उमेश यादवले आफ्नो पक्षमा आएको ९ हजार बढी मत बदर भएकोले पराजय भोग्नुपरेको बताउँछन् । उमेश यादवले १४ हजार ९५८ मत प्राप्त गरेका थिए ।
मतदातालाई बुझाउन नसक्दा उनीहरूको माया पाएर पनि चुनाव जित्न नसकेको उनको भनाइ छ ।