१५ असार २०८३, सोमबार

नेपाल टेलिकमको नाफा घट्यो, व्यावसायिक आम्दानी भने बढ्यो

बैशाख २८, २०७९
नेपाल टेलिकमको नाफा घट्यो, व्यावसायिक आम्दानी भने बढ्यो

गत आर्थिक वर्षको तुलनामा नेपाल टेलिकमको नाफा घटेको छ । 

समग्र व्यवसायिक आम्दानी बढेपनि टेलिकमको नाफा भने घटेको हो ।  

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा करिब ८ प्रतिशत घटेको छ।

गत वर्षको चैतमा ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएको नेपाल टेलिकमले चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४३ करोड रुपैयाँ मात्र कमाएको वित्तीय विवरणमा देखिएको छ ।

कम्पनीले सेवा बिस्तार गरे बापतको आम्दानी भने बढाएको छ। 

समीक्षा अवधिमा टेलिकमले २८ अर्ब २१ करोड रुपैयाँ आम्दानी गरेको हो । 

एक आर्थिक वर्षको अवधिमा टेलिकमको आम्दानी ३ प्रतिशत बढ्यो। सेवा उपलब्ध गराएबापत गत आर्थिक वर्षको चैतमा टेलिकमले २७ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो। 

सेवा बाहेक कम्पनीका अन्य आम्दानी पनि बढेका छन्। अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब १७ करोड रुपैयाँ आम्दानी गरेको हो।

यस्तो आम्दानी गत आर्थिक वर्षको सोही अवधिमा अन्य स्रोतमार्फत कम्पनीले ४ अर्ब २२ करोड रुपैयाँ कमाएको थियो। 

समीक्षा अवधिमा टेलिकमको कुल आम्दानीको आकार पनि करिब ३ प्रतिशत बढेको छ। टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३२ अर्ब ५३ करोड रुपैयाँ कुल आम्दानी गरेको छ।         

गत आर्थिक वर्षको चैतको तुलनामा टेलिकमको खर्च पनि बढेको छ। 

एक आर्थिक वर्षको अवधिमा खर्च झन्डै एक अर्ब रुपैयाँ बाँडेको पाइयो। यस अवधिमा कम्पनीको संचालन तथा मेन्टिनेन्स खर्च अत्यधिक बढेको छ। यस्तै, रेगुलेटर फी, चार्ज तथा नवीकरणको शुल्क बापतको खर्च पनि वृद्धि भएको पाइन्छ।

बोनस सेयरको सहायतामा बढेको चुक्ता पुँजीले कम्पनीको प्रति सेयर आम्दानीमा भने नकारात्मक प्रभाव परेको छ। 

पुँजीको तुलनामा कम्पनीले खुद नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानी ४०.२६ रुपैयाँमा सीमित छ। पोहोर चैतमा कम्पनीको इपीएस ४३.५९ रुपैयाँ थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल टेलिकमको प्रति सेयर नेटवर्थ ५११.७७ रुपैयाँ छ। धितोपत्र बजारको अन्तिम कारोबार मूल्य १०३८.९० रुपैयाँका आधारमा टेलिकमको मूल्य आम्दानी अनुपात २५.६८ गुणा छ।

salt training

कमेन्ट गर्नुहोस्