२७ असार २०८३, शनिबार
सरसर्ती २४ घण्टा

नामावली भएकालाई भोट हाल्न सहज, मौन अवधिमा ठाउँठाउँमा अशान्ति

बैशाख २९, २०७९
नामावली भएकालाई भोट हाल्न सहज, मौन अवधिमा ठाउँठाउँमा अशान्ति

‘लोकान्तर राउण्ड अप’ मा पाठकवृन्दलाई स्वागत छ । सधैँझै आज पनि हामी पछिल्ला २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती  लिएर आएका छौँ ।
निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका तर नामावली भएकाको हकमा सहजीकरण गरेको छ । आयोगको यो व्यवस्थासँगै मतदाता परिचय पत्र नभएकाले भोट हाल्न सहज हुने भएको छ । आयोगको निर्णयअनुसार अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाण पूर्जाको सक्कल प्रमाणका आधारमा अन्तिम नामावली विवरणसँग भिडाई मतदान गर्न पाउने व्यवस्था मिलाइएको छ । 
००००
यसैगरी निर्वाचन आयोगले मदिरा सेवन गरेका मतदातालाई मतदान केन्द्रमा प्रवेश नदिने भएको छ । मतदाता नामावलीमा नाम भएपनि आयोगले त्यस्ता व्यक्तिलाई मतदान केन्द्रमै प्रवेश नदिने भएको हो । 
यस्तै त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने पनि आयोगले जारी गरेको सूचनामा उल्लेख छ । 

‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुँदैन’, आयोगले भनेको छ, ‘त्यस्तै मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएको मतदाता वा अन्य कुनै व्यक्तिले मतदान केन्द्रभित्र मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाइटरजस्ता प्रज्वलनशील एसिड पदार्थ, कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान नपाइने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’
००००
मंगलबार रातिदेखि मौनअवधि सुरु भएपनि देशका विभिन्न स्थानमा अशान्तिका घटना भएका छन् । मुलतः दुई पक्षीय झडपदेखि बम विस्फोटसम्मका घटना भएका हुन् । मौनअवधिमा मत प्रभावित पार्न चलखेल गरेको आरोपप्रत्यारोप विभिन्न जिल्लामा झडपमा परिवर्तन भएको छ । 
मौनअवधि उलंघन गरेको भन्दै प्यूठानमा नेकपा एमाले र गठबन्धन दलका कार्यकर्ताबीच बुधबार झडप भएको छ । सरुमारानी गाउँपालिका ३ हशंपुरमा एमाले र गठबन्धनका कार्यक्रताबीच झडप हुँदा चार जना घाइते भएका छन् ।
यसैगरी नेकपा एमालेकी सांसद शान्ता चौधरीले काँग्रेस कार्यकर्ताले आफ्नो घर घेरेको बताएकी छन् । उनले दाङस्थित आफ्नो घर काँग्रेसका कार्यकर्ताले घेरेर धम्की दिएको बताएकी हुन् ।  ‘नेपाली काँग्रेसका कार्यकर्ता मेरो घर घेरेर धम्की दिँदैछन् यतिबेला’, उनले सामाजिक सञ्जालमा लेखेकी छन् । पछि उनले प्रहरीले आफूलाई सुरक्षा दिएको बताएकी छन् ।

यसैगरी एमाले कार्यकर्ताको अपहरणपछि हत्या गरेको आरोपमा  उम्मेदवारसहित ३ जना पक्राउ परेका छन् । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाकी एमाले कार्यकर्ता जुनमाया बुढा (डुँसी बुढा)को अपहरणपछि हत्या गरेको आरोपमा निवर्तमान वडाध्यक्ष जयकुमार बुढा, वडाध्यक्षका उम्मेदवार कुमार सिंह र अर्जुन बुढा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले  बताए ।

यसैगरी सुर्खेतमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा ६ जना घाइते भएका छन् । सिम्ता गाउँपालिका–६ मा दुई पार्टीका कार्यकर्ता एकआपसमा झगडा गर्दा ४ जना प्रहरी र २ जना कार्यकर्ता घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी पदमबहादुर विष्टले बताए ।
००००
कञ्चनपुरको लालझाडीमा पनि नेकपा एमालेका कार्यकर्ता र माओवादी केन्द्रका कार्यकर्ताका बीचमा झडप भएको छ । कञ्चनपुर क्षेत्र नम्बर–१ कि सांसद बिना मगर लालझाडी गाउँपालिका–१ मा गएर भोट मागेको निहुँ बनाएर एमालेका कार्यकर्ताले विवाद गरेका थिए ।  
००००
 सिरहाको गोलबजार नगरपालिकामा मौन अवधिमा पैसा बाँडेको आरोपमा माओवादी केन्द्र निकट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ घर भएका ५५ वर्षीय प्रेमबहादुर तामाङ छन् । स्थानीयले उनलाई पक्रेर प्रहरीको जिम्मा लगाएका हुन् ।
००००
स्याङ्जामा पनि नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच पनि झडप भएको छ ।  स्याङ्जाको हरिनाश गाउँपालिका र आँधीखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
००००
बुटवलमा बुधबार राति बम विस्फोट भएको स्थानमा ‘नेकपा माओवादी’ लेखिएको पर्चा फेला परेको छ । घटनास्थलमा ‘नेपाल बन्द सफल पारौँ भन्ने नेकपा माओवादी केन्द्रीय प्रचार प्रसार विभाग’ लेखिएको जलेको अवस्थाको पर्चा फेला परेको प्रहरीले जनाएको छ । 
बुटवल उपमहानगरपालिका–९ स्थित मिलनचोकमा प्रेस कुकर बम विस्फोट हुँदा त्यहाँ रहेको बी११ नामक रेष्टुरेन्टको झ्यालको सिसा चर्केको छ भने सोही स्थानमा रहेको पश्चिमाञ्चल निर्माण सामाग्री केन्द्रको दुई वटा सटरमा तिन वटा प्वाल परेको प्रहरीले जनाएको छ । 
यद्यपि मानविय क्षति नभएको बताउँदै प्रहरीले घटनास्थलमा प्रहरी नायव उपरीक्षक  ठग बहादुर केसी र  मोहन खाणँको कमाण्डमा २५ जनाको टोली खटिएको प्रहरीले जनाएको छ । प्रहरीले ‘नेकपा माओवादी’ दाबी गरिएको समूहको पहिचान नखुलेको बताउँदै घटनाबारे अनुसन्धान सुरु गरिएको बताएको छ ।
००००
प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचनको मौन अवधिको पहिलो दिन २७ सञ्चार माध्यमलाई कारबाही गरेको छ । काउन्सिलले निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेका ती सञ्चार माध्यमलाई क्षमायाचनासहित भुलसुधार गर्न निर्देशन दिएको हो । कारबाही गरिएकामध्ये मूलधारका १७ सञ्चार माध्यममले तत्काल क्षमायाचनासहित सम्प्रेषित सामग्री सच्याएका छन् । यस्तै मौन अवधिको २४ घण्टाभित्रै काउन्सिलले २५ जना पत्रकारलाई सामाजिक सञ्जालमा राखिएका सामग्रीप्रति ध्यानाकर्षण गराएको छ । 

फोनमार्फत ध्यानाकर्षण गराइएका पत्रकारमध्ये २० जनाले तत्काल भूलसुधार गरी सामग्री हटाएको पाइएको काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए । उनका अनुसार ५ जना पत्रकारले कुनै प्रतिक्रिया दिएका छैनन् । गएराति १२ बजेदेखि हालसम्म १३ वटा अनलाइन सञ्चार माध्यम, ५ वटा पत्रिका, ४ वटा टेलिभिजन र ३ वटा रेडियोबाट सम्प्रेषित सामग्री निर्वाचन आचारसंहिताविपरित देखिएपछि पत्र काटेर हटाउन, सच्याउन र रेडियो तथा टेलिभिजनको हकमा तत्काल रोक्न निर्देशन दिएको काउन्सिलले जनाएको छ ।
००००
शुक्रबार हुने स्थानीय तह निर्वाचनको रिपोर्टिङका लागि पत्रकारलाई विशेष पास नचाहिने भएको छ । अब पत्रकारले सूचना विभागको पासकै आधारमा सवारी चलाउन पाउनेछन्  । नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले निर्वाचनका दिन सूचना विभागबाट जारी भएको पत्रकार परिचयका आधारमा नै सवारी चलाउन पाउने व्यवस्था गरेको महासंघका महासचिव रोशन पुरीले जानकारी दिए ।
००००
राष्ट्रिय महिला आयोगले स्थानीय तहको निर्वाचनमा महिलामाथि हुने जघन्य हिंसा र अपराधका बारेमा निर्वाचन आयोगबाट अनुगमन गर्न र हिंसाजन्य घटना हुन नदिन प्रहरी प्रशासनसमक्ष अनुरोध गरेको छ ।
आयोगका प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचनको समयमा भएका हिंसाउपर निर्वाचन आयोगबाट समेत अनुगमन र हिंसाजन्य घटना हुन नदिने विषयमा सम्बन्धित प्रहरी प्रशासनमा अनुरोध गरिएको छ ।
००००
सर्वोच्च अदालतको पूर्ण बैठकमा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा बुधबार बसेको बैठकमा सर्वोच्च अदालतमा भएका विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने तथा न्यायिक सुधारका विषयमा चाल्नुपर्ने विधिबारे छलफल भएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।
००००
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको पछिल्लो ९ महिनाको तथ्यांकअनुसार महंगी दर अचाक्ली बढेको छ ।
मूल्यवृद्धि विपन्न वर्गका उपभोक्ताको ढाड सेकिने गरी बढेका कारण मंहगीको दर चैत मसान्तसम्ममा आइपुग्दा यो वर्षकै उच्च देखिएको छ । यो वर्षको चैतमा उपभोक्ता मुद्रास्फीति (महंगीदर) ७.२८ प्रतिशत पुगेको छ । यस्तो महंगीदर गत वर्षको सोही अवधिमा ३.१० प्रतिशत मात्रै थियो ।
००००
जेठबाट शिक्षण संस्था पनि हप्तामा दुई दिन बिदा हुने भएको छ । सरकारले परीक्षणका रुपमा जेठ १ गतेदेखि शनिवार र आइतवार गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो ।  विद्यालय समय बिहान १० देखि ४ बजेसम्म नै समय तोकिएको छ । तर, हिउँदे, बर्खे र स्थानीय बिदामा भने कटौती गरिएको छ । यस्तो बिदा अधिकतम ३० दिनसम्म हुने शिक्षा मन्त्रालयले जनाएको छ ।
००००
पछिल्लो २४ घण्टामा २१ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ७८८ नमूना परीक्षणमध्ये २१ जनामा संक्रमण देखिएको हो ।

कमेन्ट गर्नुहोस्