रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभले डोनेत्स्क र लुगान्स्कमा बस्ने मानिसलाई युक्रेन सरकारबाट सुरक्षित पार्ने लक्ष्य रुसले लिएको बताएका छन् ।
ओमानमा एक पत्रकार सम्मेलनमा बोल्दै उनले रुसको विशेष सैन्य कारवाहीमार्फत पश्चिमलाई अन्तर्राष्ट्रिय कानूनको अवमूल्यनको प्रयास रोक्न खोजिएको बताए । पश्चिमले सार्वभौमसत्ताको सिद्धान्त लगायत संयुक्त राष्ट्रसंघको बडापत्रलाई बेवास्ता वा गम्भीर उल्लंघन गरेको आरोप लाभरोभले लगाए । अमेरिकाको प्रभुत्व रहेको एकध्रुवीय विश्वको प्रवर्धन गर्नबाट पश्चिमलाई रोक्ने उद्देश्य आफूहरूले लिएको उनको भनाइ छ ।
युक्रेनमा रहेका विशेष कारवाही क्षेत्रहरूबाट बाहिर निस्कन चाहने सर्वसाधारणमा रुसको रुचि रहेको उनले बताए ।
त्यस्तै युक्रेनको भूमिबाट रुसको सुरक्षालाई सैन्य जोखिम तेर्स्याउन पश्चिमलाई रोक्ने उद्देश्य पनि रहेको उनको भनाइ छ ।
रुसले युरोपमा युद्ध नचाहेको तर पश्चिमले जसरी भए पनि रुसलाई हराउनुपर्ने भनिरहेको लाभरोभले बताए । सम्झौताका लागि पश्चिमले अघि सारेको योजनामा भर पर्न नसकिने उनको भनाइ छ ।
पश्चिमले प्रभुत्व कायम गर्न तथा खुलमखुला डकैती गर्नका लागि आफ्नै सिद्धान्त पनि उल्लंघन गर्ने गरेको आरोप लाभरोभले लगाए ।