
निर्वाचन आचार संहिता, २०७८ ले मतदानको दिन मतदानकेन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भातृ संगठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ ।
यस अनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिन्ह वा मत संकेत भएको पहिरन वा ब्याज लगाउन नहुने, कुनै राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको सांकेतिक पोशाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन नहुने पाइँदैन ।
यस्तै कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवम् आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारी बाहेक अन्य कुनै पनि व्यक्ति मतदानकेन्द्रमा प्रवेश गर्न नहुने व्यवस्था रहेको पनि निर्वचन आयोगले स्पष्ट गरेको छ ।
यसैगरी मतदाताहरुले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोवाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाई, लाईटर जस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्र लगायतका कागजातहरू, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा संकेत जनिने कुनै वस्तु लैजान पाइनेछैन ।
यस्तै कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने आयोगले जनाएको छ । यस्तै मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार पैmलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन पनि रोक लगाइएको छ ।
कसैको दल वा उम्मेदवारको झण्डा वा चिन्ह अंकित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक संजाल मार्फत् कुनै कुरा प्रकाशन प्रसारण र संप्रेषण गर्न नहुने जस्ता व्यवस्थाहरु गरिएको पनि आयोगले विज्ञप्तिमार्फत जनाएको छ । आयोगले शुक्रबार सबै मतदानस्थल तथा मतदानकेन्द्रहरुमा उपरोक्त अनुसारको व्यवस्था कडाईसाथ कार्यान्वयन गर्न गराउन सबै पक्षलाई आग्रह गरेको छ ।