
बिहान ७ बजेदेखि शुरूआत हुन लागेको स्थानीय तह निर्वाचनबाट तनहुँमा ४४५ जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकामा ती जनप्रतिनिधि निर्वाचित हुने भएका हुन् ।
चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ निर्वाचित हुनेछन् । ६ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ निर्वाचित हुनेछन् । त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ जना निर्वाचित हुनेछन् । जिल्लाका १० पालिकामा एक हजार ६०० भन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ ।
निर्वाचन कार्यालयका प्रमुख हरिप्रसाद ढकालले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै मतदान कार्यमा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरे । निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नागरिकलाई भयरहित वातावरणमा निर्वाचन सहभागी हुने स्थिति बनाउनका लागि प्रशासनले सुरक्षा व्यवस्था चुस्त बनाएको हो ।
निर्वाचनलाई लक्षित गरी तनहुँमा दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए ।