
बुटवल उपमहानगरपालिकामा पहिलो जीत स्वतन्त्र उम्मेदवार नरेन्द्र बस्नेतले निकालेका छन् ।
नेपाली कांग्रेसका नेता बस्नेतलाई पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए ।
बुटवल वडा नम्बर १ का ६० वर्षीय बस्नेत समाजसेवी पनि हुन् । २०५४ सालमा पनि बस्नेत स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । त्यतिखेर पनि उनी कांंग्रेसबाटै विद्रोह गरेर उम्मेदवार बनेका थिए । त्यतिखेर उनले कुचो चुनाव चिह्न पाएका थिए ।
बस्नेत ६३६ मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेन्द्र लिगलले ५५१ मत ल्याए ।
लिगल २०७४ सालमा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधानले ३४८ मत मात्र प्राप्त गरे । वडा सदस्यहरू कांग्रेसका विजयी भएका छन् ।
समाजमा भिजेका बस्नेतले जनताको सेवा गरेका कारण मत पाएको बताउँछन् ।
बुटवल–१ को मतगणना सकिँदासम्म बुटवलमा मेयरमा नेपाली कांग्रेसका खेलराज पाण्डेले अग्रता लिएका छन् ।
बुटवलमा यसअघि विजयी भएको एमालेलाई उछिन्दै राप्रपाका उम्मेदवार मृगेन्द्र शेरचन दोस्रो बनेका छन् ।
एमालेका बाबुराम भट्टराई तेस्रो नम्बरमा छन् ।