
मोरङको रंगेलीमा शनिवार रातिदेखि रोकिएको मतगणना खुलाउनका लागि निर्वाचन आयोगको निर्णय पर्खनुपर्ने भएको छ ।
शनिवार राति ११ बजेदेखि रोकिएको मतगणना शुरू गर्न सर्वदलीय बैठक राखिए पनि सहमति नभएपछि निर्वाचन आयोगलाई जानकारी गराइएको प्रमुख जिल्ला अधिकारी काषिराज दाहालले बताए ।
आयोगको निर्णय आएपछि मात्रै मतगणना शुरू गरिने उनले जानकारी दिए ।
खाली मतपेटिकाको फोटो देखाएर नेकपा एमाले बाहेकका दलले मतगणना रोक्न माग राख्दै निवेदन दिएका थिए ।
'मतगणनास्थलमा दुई वटा मतपेटिका लगिएको थियो,' निर्वाचन अधिकृत रामहरी काफ्लेले भने,'एउटा मात्रै प्रयोग भयो । त्यहाँ बाट नै मुचुल्का उठाएर खालि मतपेटिका लिएर आएका थियौँ ।'
३ हजार मतगणना भइसकेपछि खाली मतपेटिका भेटिएको भन्दै निवेदन दिएपछि मतगणना रोकिएको अधिकृत काफ्लेले बताए ।
मतपेटिका फोडिएको अवस्थामा फेला परेको भन्दै गणना नगर्न दबाब दिदै मतगणना रोक्न माग गरेका थिए ।
एमाले बाहेकका दलका कार्यकर्ताले शनिवार राति मतगणना स्थल रंगेलीको जनता क्याम्पस परिसरमा प्रदर्शन गरेका थिए ।
मतदान रोकिएपछि गृहमन्त्री बालकृष्ण खाँणले समेत चासो राखेका थिए । आइतवार बसेको सर्वदलीय बैठक समेत बिनानिष्कर्ष टुंगिएको थियो ।
वडा नम्बर ८ को मतपेटिका फोडिएको अवस्थामा फेला परेको र स्वतन्त्र उमेदवारको नाममा एमालेले धेरै प्रतिनिधि राखेको कांग्रेसका मेयरका उम्मेदवार मोदराज घिमिरेले आरोप लगाए।
घिमिरेले मतपेटिका फोडिएको अवस्थामा गणानास्थलमै फेला परेकोले छानविन हुनुपर्ने समेत बताए ।
एमालेबाट मेयर पदका उम्मेदवार दिलिप बगडियाले भने मतगणना रोक्नुको कुनै अर्थ नभएको बताएका छन् ।
बगडियाले रंगेली नगरपालिकाको वडा नम्बर १, २ र ३ को मतपेटिका खोलेर गणना भइरहेको अवस्थामा गठबन्धनको पकड बलियो भएको क्षेत्रमै कमजोर देखिएकाले मतगणना हुन नदिने षडयन्त्र भएको दाबी गरे ।