टर्कीका राष्ट्रपति रेचेप तैयिप एर्दोआनले फिनल्यान्ड र स्विडनलाई पश्चिमी सैन्य गठबन्धन नेटोको सदस्य बन्न नदिने बताएका छन् ।
नेटोका सबै ३० सदस्यको सर्वसम्मतिमा मात्र नयाँ सदस्य जोडिन मिल्छ ।
सबै मुलुकहरू आफ्नो राष्ट्रिय स्वार्थलाई सर्वोपरि राख्छन् र एर्दोआनले पनि स्विडनमा बस्ने कुर्दिशहरूलाई हटाउनुपर्ने नत्र स्विडनलाई नेटोमा जोडिन नदिने माग राखेका छन् ।
स्विडनको समाज र राजनीतिकर्मीहरू स्वतन्त्र र तटस्थ रहने गरेका छन् । उनीहरू विश्व राजनीतिमा असल मान्छे भनी चिनिने गरेका छन् ।
नेटो आफैंमा एक साम्राज्य हो । उसका आफ्नै स्वार्थहरू छन् । नेटोका सदस्यहरूको आफ्नै सैन्य तथा साम्राज्यवादी परियोजना छन् ।
नेटोको यस्तो चरित्रले स्विडनमा समस्या ल्याइसकेको छ । राजनीतिक शरणार्थीहरूलाई आश्रय दिने स्विडनको सहिष्णुतालाई साम्राज्यवादी नेटोमा जोडिँदा पर्ने असर निकै ठूलो हुनेछ । नेटोमा जोडिने कुराका विषयमा स्विडनमा जनमतसंग्रह गरिए रमाइलो परिणाम आउन सक्छ ।
टर्की सन् १९५२ मा नेटोको सदस्य बनेको थियो । अमेरिकापछि सबभन्दा ठूलो सेना हुने नेटो सदस्य मुलुक टर्की नै हो ।
टर्की महत्त्वपूर्ण रणनीतिक अवस्थितिमा रहेको मुलुक हो । नेटोलाई स्विडनभन्दा टर्कीको महत्त्व धेरै छ । त्यसैले नेटोले टर्कीलाई धेरै दबाब दिन सक्दैन ।
साइप्रसमाथि आक्रमण गर्दा पनि टर्कीलाई नेटोबाट निष्काशन गरिएन । अनि सिरियामा अमेरिकी स्वार्थमा घात हुने गरी टर्कीले आक्रमण गर्दा पनि उसलाई नेटोबाट निकालिएन । लिबियामा पनि त्यही कुरा लागू हुन्छ ।
नेटोको रणनीतिमा टर्की महत्त्वपूर्ण खम्बा हो । अमेरिकाले टर्कीमा क्षेप्यास्त्र राखेको भएर नै शीतयुद्धको बेलामा क्युबाली क्षेप्यास्त्र संकट आएको थियो । टर्की मध्यपूर्व तथा इस्लामिक विश्वको महत्त्वपूर्ण प्रवेशद्वार हो ।
बोस्फोरस जलसन्धिको नियन्त्रण टर्कीकै हातमा छ । त्यसबाहेक टर्कीले बाल्कन क्षेत्र र सिरियामा पनि प्रभाव राख्ने गरेको छ ।
टर्कीको तुलनामा स्विडनले नेटोलाई दिन सक्ने खासै केही कुरा छैन । त्यसैले स्विडनलाई नेटोमा भित्र्याउने हो भने अमेरिकाले टर्कीका सबै माग पूरा गर्नुपर्ने बाध्यता छ ।