०६ असार २०८३, शनिबार

'सिद्धबाबा'लाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

'सिद्धबाबा'लाई सफाइ दिने जिल्ला अदालतको फैसला उच्चले उल्ट्यायो

विवादास्पद धर्मगुरु सिद्धबाबा कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने जिल्ला अदालत सुनसरीको फैसला उच्च अदालत विराटनगरले उल्टाइदिएको छ । 

मंगलवार उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको संयुक्त इजलासले जिल्लाको फैसला बदर गरेको हो ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो । उच्च अदालतले जिल्लामा पेश भएका प्रमाणहरु पुनः बुझेर फैसला गर्न जिल्लालाई आदेश दिएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए । 

इजलासले पीडित र पीडक पक्षबीच भएको ‘भ्वाइस कल’को परीक्षण गर्न, पीडित महिलाको स्वास्थ्य परीक्षण गर्ने डाक्टरको बकपत्र गर्न र पीडित तथा पीडक पक्षका साक्षीको बकपत्र गर्न र प्रमाणहरू बुझेर पुनः इन्साफ गर्न आदेश दिएको हो ।

२०७६ कात्तिक ४ गते राति सिद्धबाबाले करणी गरेको दाबीसहित २०७६ मंसिर ११ गते पीडितले प्रहरी कार्यालय सुनसरीमा जाहेरी दिएकी थिइन् । गिरीले हिरासतमा बस्ने समय भने अस्पतालमा बसेर बिताएका थिए । 

गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो । ९ माघ २०७६ मा उच्च अदालत विराटनगरका तत्कालीन मुख्यन्यायाधीश तीलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको इजलासले थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो । जिल्लाको फैसलापछि भने उनी कारागारबाट आश्रम फर्किएका थिए ।

२०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीले गिरीलाई सहमति करणी गरेको देखिएकाले बलात्कार नठहरिने फैसला गरेको थियो । 

जिल्लाको फैसलाविरुद्ध पीडित पक्षबाट सरकारी वकिलको कार्यालय २०७७ फागुन २८ गते उच्च अदालतमा निवेदन दर्ता गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्