
नेकपा एमालेका महासचिव शंकर पोखरेल स्थानीय तह निर्वाचनको दिन कांग्रेस कार्यकर्ताको आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न अस्पताल पुगेका छन् ।
निर्वाचनको क्रममा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँमा मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो ।
चुनावको दिन आक्रमणमा परी घाइते भएका जोशीको हाल पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको छ । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा गरेको बिद्रोहपछि एमालेसँग तालमेल गरी सूर्य चिन्ह लिएर दीपकराज मेयरको उम्मेदवार बनेका थिए ।
अस्पतालमा महासचिव पोखरेलसँगै उपमहासचिव बिष्णु रिमाल, स्थायी कमिटी सदस्य डा. राजन भट्टराई, पोलिटब्युरो सदस्य पार्वत गुरुङ थिए । अस्पताल पुगेर महासचिव पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै यस्ता घटनाबाट निरास नहुन र दृढताका साथ जनताको बीचमा गएर सामना गर्दै परास्त गर्न सुझाव दिए ।