
अमेरिकाले भारतसँगको सुरक्षा सम्बन्ध गहिरो बनाउनका लागि सैन्य सहायता प्याकेजको तयारी गरिरहेको बताइएको छ ।
ब्लूमबर्ग पत्रिकामा छापिएको खबरअनुसार, अमेरिकाले भारतलाई ५० करोड डलर बराबरको सैन्य सहायता दिनेछ । इजरायल र इजिप्टपछि यति धेरै सहायता रकम पाउने मुलुक भारत हुनेछ । यो सम्झौता कहिले घोषणा गरिनेछ र कस्तो हतियार समावेश गरिनेछ भन्ने टुंगो छैन ।
भारतले लामो समयदेखि रुससँग घनिष्ठ सम्बन्ध कायम गर्दै सुरक्षा उपकरणहरू किन्ने गरेको छ । भारतलाई रुसको प्रभावबाट हटाउनका लागि अमेरिकाले यो प्रयास गरेको हो । युक्रेनमाथि रुसले आक्रमण गर्दा भारतले रुसको निन्दा गर्न नमानेपछि अमेरिका चिढिएको थियो ।
भारतको विश्वसनीय सहयोगीका रूपमा अमेरिका देखि चाहेको एक अमेरिकी अधिकारीले बताए । बाइडन प्रशासनले फ्रान्स लगायतका देशसँग मिलेर नरेन्द्र मोदी सरकारलाई आवश्यक रहेका सैन्य उपकरण उपलब्ध गराउने ती अधिकारीको भनाइ छ ।
भारतले हतियार खरिदमा विविधता ल्याइरहेकोमा अमेरिकाले त्यस प्रक्रियालाई थप शीघ्रता दिन चाहेको अमेरिकी अधिकारीले बताए ।
भारतलाई लडाकू विमान, जलसैन्य जहाज तथा ब्याटल ट्यांकहरू उपलब्ध गराउनु प्रमुख चुनौती भएको ती अधिकारी बताउँछन् । अहिले दिन खोजिएको सहायता प्याकेजले यी हतियारलाई समावेश गर्न सकिँदैन । अर्बौं डलर पर्ने हतियार सस्तो मूल्यमा उपलब्ध गराउनका लागि अमेरिकाले योजना बनाइरहेको र तत्कालका लागि सैन्य सहायताले प्रतीकात्मक सन्देश दिने ती अधिकारीको भनाइ छ ।