
काभ्रेको बनेपा र नमोबुद्ध नगरपालिकामा नेकपा एमालेको विरासत ढलेको छ ।
२०७४ सालको निर्वाचनमा दुवै नगरपालिका एमालेले जितेको भए पनि २०७९ सालको चुनवामा कांग्रेसले विरासत ढालेको छ ।
काभ्रेको बनेपा नगरपालिकामा नेपाली कांग्रेसका शान्ति रत्न शाक्य १३ हजार ७९३ मत ल्याएर निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रत्नकुश रंजितकारभन्दा १ हजार ९५८ मत अन्तरले उनी निर्वाचित हुन सफल भएका हुन् । रंजितकारले ११ हजार ८३५ मत ल्याएका छन् ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेका लक्ष्मी नरसिंह वादे ११ हजार ४०९ मत ल्याएर निर्वाचित भएका थिए । नेपाली कांग्रेसका राम जोशीलाई उनले हराएका थिए । जोशीले ९ हजार ६८८ मत ल्याएका थिए तर यसपटक पनि मेयरमा उनले टिकट नपाएपछि एमाले पार्टी परित्याग गरेका थिए ।
उम्मेदवारको मनोनयनको अन्तिम नामावली प्रकाशन भएर एमालेका उम्मेदवार रंजितकार प्रचारप्रसारमा लागेको अवस्थामा वादेले एमाले परित्याग गरेका थिए ।
काभ्रेको नमोबुद्ध नगरपालिका पनि एमालेबाट कांग्रेसले खोस्न सफल भएको छ । नेपाली कांग्रेसका कुनासङ लामा ५ हजार ३८९ मतान्तरले नगर प्रमुखमा निर्वाचित हुन सफल भएका छन् ।
उनले ११ हजार २११ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजन भुर्तेलले ५ हजार ८२२ मत ल्याएका छन् ।
२०७४ सालको निर्वाचनमा नगरपालिका एमालेले जितेको थियो । एमालेका टंक प्रसाद शर्माले ५ हजार ३४६ मत ल्याएर प्रमुखमा जितेका थिए । अहिले नगर प्रमुख जितेका लामालाई त्यतिबेला उनले पराजित गरेका थिए । लामाले त्यतिबेला ४ हजार १६१ मत ल्याएका थिए ।