पतिको हत्या कसरी गर्ने शीर्षकको ब्लग लेख्ने उपन्यासकार न्यान्सी क्राम्पटन ब्रोफी आफ्ना पतिको हत्या गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेकी छन् ।
ब्रोफीको मुद्दा कुनै जासूसी उपन्यासको कथा झैं लाग्छ । बीमाको रकम, विस्मरणको समस्या रहेको दाबी गर्ने गरीब आरोपित, हराइरहेको हतियार र सर्वे फूटेजमा रंगेहात पक्राउ– यी सबै कथाका प्लट जस्ता लाग्छन् ।
तर ब्रोफीमा लागि यो ताजा उपन्यासको कथानक नभई वास्तविक जीवनको घटना बन्न पुगेको छ ।
अमेरिकाको ओरेगन राज्यमा बस्ने ब्रोफी चर्चित उपन्यासकार हुन् । उनीमाथि आफ्ना पति डेनियल ब्रोफीलाई गोली हानेर हत्या गरेको आरोप छ । हत्या गर्न उपयोग भएको बन्दूकको नाल उनले ईबेमा किनेकी हुन् ।
अभियोजनकर्ताहरूका अनुसार, ती ७१ वर्षीया लेखिकाले घरको किस्ता तिर्न संघर्ष गरिरहेकी थिइन् र पतिको जीवनबीमाको रकम हात पार्न खोजेकी थिइन् ।
अदालतमा बयान दिने क्रममा ब्रोफीले पति मार्नका लागि कुनै उद्देश्य नरहेको बताइन् ।
तर ब्रोफीका पति ओरेगन कलिनरी इन्स्टिच्युटको एक कक्षाकोठामा मारिएकै बेलातिर ब्रोफीको गाडी घटनास्थल नजिक सीसीटीभी फूटेजमा देखिएको थियो ।
उक्त घटना सन् २०१८ को जुन २ मा भएको हो ।
‘तपाईंका पतिमाथि गोली प्रहार हुँदा तपाईं घटनास्थल नजिक हुनुहुन्थ्यो । पतिलाई लागेको गोली जुन बन्दूकबाट चलेको हो त्यो रहस्यमय रूपमा गायब भएको छ,’ अभियोजन वकिलले भने ।
ब्रोफीले घटनास्थलमा आफू पुगेको याद नभएको बताइन् । तर आफू त्यहाँ पुगेको हुन सक्ने स्वीकार गरिन् । आफू कथाको लागि प्रेरणा पाउन उक्त क्षेत्रमा गाडी लिएर पुगेकाले सीसीटीभीमा देखिएको हुन सक्ने उनको भनाइ छ ।
‘मेरो पतिलाई मैले गोली हानेको भए मलाई याद हुनुपर्ने हो,’ उनले भनिन् ।
डेनियल ब्रोफी बिहान क्लास शुरू हुने बेलामा मृत अवस्थामा फेला परेका थिए । उनलाई दुईपटक गोली हानिएको थियो ।
अनुसन्धानकर्मीहरूका अनुसार, हत्यामा प्रयोग गरिएको ग्लक बन्दूक आरोपितले ईबेमा किनेकी हुन् ।
बन्दूकको नालमा फरेन्सिक प्रमाण भेटिन सक्थ्यो तर अहिलेसम्म त्यो फेला परेको छैन ।
ब्रोफीले ग्लक पिस्तोलको नाल किनेको स्वीकार गरिन् । जंगलमा च्याउ टिप्न जाँदा सुरक्षाका लागि पतिले उक्त बन्दूक बोक्ने गरेको उनको भनाइ छ ।
ब्रोफीले लेखेको पतिको हत्या कसरी गर्ने भन्ने ब्लग अझै पनि उपलब्ध रहेको अभियोजनकर्ताहरू बताउँछन् ।