
२०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर निर्वाचित भएका ३५ हजार २२१ जनप्रतिनिधिको पदावधि सकिएको छ ।
२०७४ सालमा ३ चरणमा ३१ वैशाख, १४ असार र २ असोज गरी स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो ।
संंवैधानिक व्यवस्थाअनुसार स्थानीय तहमा निर्वाचित सबै जनप्रतिनिधिको कार्यकाल एकैपटक सकिन्छ ।
संविधानको धारा २१५ को उपधारा ६ मा गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुने उल्लेख छ ।
यसैगरी धारा २१६ को उपधारा ६ मा नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने उल्लेख छ ।
संविधानका यी दुवै धारामा भएका व्यवस्थाअनुसार २०७४ मा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि पदबाट बिदा भएका हुन् ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बिहीवार रातिसम्म ६०० बढी स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भइसकेको र शुक्रबारबाट नयाँ जनप्रतिनिधिको कार्यकाल शुरू हुने जानकारी दिए ।
‘संवैधानिक व्यवस्थाअनुसार नै बिहीबार रातिबाटै २०७४ को स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यकाल सकियो, यससँगै नवनिर्वाचित जनप्रतिनिधिको कार्यकाल शुक्रवारबाटै सुरु हुन्छ,’ आयोगका प्रमुख आयुक्त थपलियाले भने ।
प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम सार्वजनिक भइसकेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको शपथ गराउन आयोगले निर्देशन दिइसकेको र केही जिल्लामा धमाधम शपथ भइरहेको पनि बताए ।
‘रिजल्ट आएका ठाउँमा शपथ गराउनु भनेर आयोगले भनिसकेको छ, केही स्थानमा शपथ भइसकेको छ, सोमबारसम्म सबै स्थानमा शपथ हुन्छ,’ प्रमुख आयुक्त थपलियाले अघि थपे ।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको देशका ६ महानगर, ११ उपमहानगरसहित केही नगरपालिका र केही गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । केही स्थानीय तहका मतदान केन्द्रमा विधि कारणले बिथोलिएको निर्वाचन पनि धमाधम छ । राजधानीमा खबर छ ।