
तनहुँको व्यास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् ।
वैशाख ३० गते भएको निर्वाचनको दिन झडप भएपछि व्यासको एउटा वडामा बुधवार निर्वाचन भएको थियो । कांग्रेस उम्मेदवार बैकुण्ठ न्यौपानेलाई पछि पार्दै जोशीले अग्रता लिएका हुन् ।
शुक्रवार बिहानसम्मको नतिजा अनुसार जोशीले ३ हजार ५३८ मत पाउँदा न्यौपानेले २ हजार ५९१ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन् । कांग्रेसकी इन्दिरा दरैले ३ हजार २२ मत पाउँदा एमालेकी वसुन्धरा घर्तीले २ हजार ९४० मत पाएकी छन् ।
कांग्रेस नेता गोविन्दराज जोशीका छोरा समेत रहेका दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँका केही पालिकामा एमाले र गोविन्दराज जोशी समूहबीच चुनावी तालमेल भएको थियो ।
वैशाख ३० गते भएको झडपमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट घाइते जोशीको काठमाडौंमा उपचार भइरहेको छ । मतगणना चलिरहँदा जोशी अस्पतालमा छन् ।