
मधेश प्रदेशको मुख्य आन्दोलनकारी शक्तिका रूपमा स्थापित मधेशवादी भनिने राजनीतिक दलले स्थानीय तह निर्वाचनमा अपेक्षित परिणाम हासिल गर्न सकेनन् ।
मधेश आधारभूमि रहे पनि जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तहमा मधेशमै आफ्नो प्रभुत्व कायम गर्न नसकेका हुन् ।
प्रादेशिक सरकारको समेत नेतृत्व गरिरहेको जनता समाजवादी पार्टी (जसपा) स्थानीय तहमा मधेशको ठूलो शक्ति बन्न असफल रह्यो ।
शुरूका तीन वर्षसम्म मधेश प्रदेशमा गठबन्धन सरकारसँगै सहयात्रा गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को ठूलो क्षयीकरण भएको छ ।

मधेश आन्दोलनबाट उदाएका यी दुई दलको विकल्पमा तराई-मधेशलाई आधार बनाएर राजनीति गरिरहेको सीके राउत नेतृत्वको जनमत पार्टी पनि वैकल्पिक शक्ति बन्न असफल भएको छ ।
१३६ स्थानीय तह रहेको मधेश प्रदेशमा अहिलेसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसले ४१ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर ठूलो शक्ति बन्न सफल भएको छ ।
नेकपा एमालेले २२ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर दोस्रो ठूलो दल बनेको छ । जसपा भने २० स्थानीय तह जित्दै तेस्रो ठूलो दल बनेको छ । २०७४ को निर्वाचनमा कांग्रेसले ४० र एमालेले १८ स्थानीय तहमा मात्र अध्यक्ष/प्रमुख जितेको थियो ।
अस्तित्व रक्षामै जसपा
उपेन्द्र यादवले नेतृत्व गरेको जनता समाजवादी पार्टीले मधेश प्रदेशमा अहिलेसम्म १५ गाउँपालिका अध्यक्ष र ५ नगरपालिका प्रमुखसहित कुल २० पालिका जितेको छ ।
२०७४ को स्थानीय निर्वाचनमा यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरमले मधेश प्रदेशमा २६ पालिकामा जितेको थियो । त्यही पार्टी अहिले जसपा बनेको छ ।
साविकको राष्ट्रिय जनता दल, बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति पार्टीसहित बनेको जसपाले गत स्थानीय निर्वाचनको तुलनामा बढी सिट जित्नु पर्नेमा त्यसो हुन सकेन । त्यसआधारमा हेर्ने हो भने जसपा आफ्नो अस्तित्व रक्षा गर्न मात्र सफल भएको देखिन्छ ।
मधेश प्रदेशको एक मात्र महानगर रहेको वीरगन्ज महानगरपालिकाको प्रमुखमा भने जसपाले फराकिलो अग्रता लिएको छ । जसपा तथा पाँचदलीय गठबन्धनका तर्फबाट उम्मेदवार रहेका राजेशमान सिंह जित्ने लगभग सुनिश्चित भइसकेको छ ।

वीरगञ्ज महानगरको प्रमुख जित्नु पनि जसपाको लागि ठूलो उपलब्धि हो । उसो त यसअघि पनि उक्त महानगर साविकको संघीय समाजवादी फोरमले नै जितेको थियो । उक्त पार्टीबाट जितेका मेयर विजय सरावगी अहिले नेकपा एमालेबाट उमेदवार बनेका छन् । जारी मतगणनामा उनी निकै मतान्तरले पछाडि परेका छन् ।
तर, मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरमा जसपाको उम्मेदवार लालकिशोर साह पाँच दलीय गठबन्धनको साझा उम्मेदवार भए पनि लज्जास्पद मत पाएका छन् ।
गत स्थानीय निर्वाचनमा साहले राजपा नेपालबाट चुनाव जितेका थिए । पछि उनले लोसपा रोज्नुको साटो जसपा रोजेका हुन् ।
त्यति मात्र होइन, जनकपुर उपमहानगरबाहेक बाराको कलैया उपमहानगर र जितपुर सिमरा उपमहानगर जसपाले जित्न सकेन ।
जसपाले सप्तरीको विष्णुपुर गाउँपालिका, सिरहाको अर्नामा, औरही, नवराजपुर, धनुषाको जनकनन्दिनी, मुखियापट्टि मुसहर्निया, महोत्तरीको पिपरा, सम्सी र एकडारा गाउँपालिकामा अध्यक्ष जितेको छ ।
त्यसै गरी सर्लाहीको चक्रघट्टा गाउँपालिका, बसबरिया, बाराको करैयामाई, देवताल, पर्साको धोबिनी र कालिकामाई गाउँपालिकामा अध्यक्ष जितेको छ ।
सप्तरीको बोदेबर्साइन नगरपालिका, राजविराज, धनुषाको शहीदनगर , महोत्तरीको गौशाला र पर्साको बहादुरमाई नगरपालिकाको प्रमुख जितेको जसपाले केही स्थानीय तहमा अग्रता कायम राखेकाले अन्तिम मत परिणाम आउँदासम्म सिट संख्या बढ्न पनि सक्छ ।
लोसपाको क्षयीकरण, चौथो दलमा सीमित
महन्थ ठाकुरले नेतृत्व गरेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेश प्रदेशमा ४ गाउँपालिका तथा ६ नगरपालिकासहित कुल १० पालिकामा प्रमुख/अध्यक्ष अहिलेसम्म जितेको छ । केही पालिकामा अझै पनि अग्रता लिएको हुनाले जितको संख्या बढ्न सक्छ ।
साविकको ६ वटा मधेश केन्द्रित पार्टी मिलेर बनेको राष्ट्रिय जनता पार्टी नेपालले २०७४ सालको २६ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेको थियो । त्यसको तुलनामा यस निर्वाचनमा झन्डै आधाभन्दा बढी सिट लोसपाले गुमाएको छ । लोसपाका लागि यो ठूलो क्षति हो ।
साविकमा जितेको जनकपुरधाम उपमहानगरसमेत जित्न नसक्ने स्थिति देखिएको छ । विगतमा जितेका कतिपय पालिकामा लोसपाले पराजय भोगेको छ ।
सप्तरीको महादेवा गाउँपालिका, महोत्तरीको सोनमा, बाराको विश्रामपुर, पर्साको बिन्दबासिनीसहित ४ गाउँपालिकामा लोसपाले अध्यक्ष जितेको छ ।
त्यसै गरी महोत्तरीको औरही नगरपालिका, बलवा, मटिहानी, सर्लाहीको गोडैता, रौतहटको इशानाथ र बाराको सिम्रौनगढसहित ६ नगरपालिकामा लोसपाले प्रमुख जितेको छ ।
अन्ततः बजेन जनमतको हर्न

सीके राउतले नेतृत्व गरेको जनमत पार्टीले पनि मधेश प्रदेशमा अपेक्षित सफलता पाउन सकेन ।
अहिलेसम्म राउतको गृह जिल्ला सप्तरीमा मात्र जनमतले २ पालिकामा जित्न सफल भएका छन् ।
सो पार्टीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका र बलान-बिहुल गाउँपालिकामा मात्र प्रमुख/अध्यक्ष जितेको छ ।
त्यसबाहेक मधेश प्रदेशमा उनको पार्टीका उम्मेदवार दोस्रो स्थानमा पनि आउन सकेनन् ।
मूलधारको राजनीतिमा आएपछि पछिल्लो समय भ्रष्टाचार विरोधी आन्दोलन, किसानको पक्षमा आन्दोलन गरेर सडक तताए पनि उनको पार्टीले अपेक्षित परिणाम हासिल गर्न सकेन ।