
काभ्रेको पाँचखाल नगरपालिकाको मेयरमा लागि भइरहेको मतगणनामा नेपाली कांग्रेसले फराकिलो अग्रता बनाएको छ ।
नेपाली कांग्रेसको तर्फबाट मेयरका उम्मेदवार महेश खरेलले ११ हजार १५६ मत पाउँदा नेकपा एमालेका कञ्चन अधिकारीले ७ हजार ७८ मत प्राप्त गरेका छन् । पाँचखालमा खरेल यसअघि पनि मेयर थिए । उपमेयरमा भने एमालेकी सूर्यमाया दनुवार ८ हजार मतसहित अगाडि छिन् ।
वैशाख ३० गतेको निर्वाचनमा एक मतदान केन्द्रमा स्थगित भएका कारण जेठ ३ गते पुनः मतदान भएको थियो । अन्य पालिकाको नतिजा आइसक्दा पनि पाँचखालमा भने आइतवार दिउँसोसम्म मतगणना भइरहेको छ ।
काभ्रेका ६ स्थानमा कांग्रेस, ४ स्थानमा माओवादी विजयी हुँदा एमाले र नेकपा एसले एक–एक स्थानमा जित हासिल गरेका छन् ।
एमालेले धुलिखेल नगरपालिकामा जित हासिल गरेको छ भने नेकपा एसले मण्डन देउपुरमा विजय हासिल गरेको छ ।