१० असार २०८३, बुधबार

एकीकृत समाजवादी ५२ जिल्लामा शून्य, कुन पार्टीले कति पालिका जिते ?

जेठ ९, २०७९
एकीकृत समाजवादी ५२ जिल्लामा शून्य, कुन पार्टीले कति पालिका जिते ?

स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम अन्तिम चरणमा रहिरहँदा कतिपय जिल्लामा प्रमुख राजनीतिक दल कांग्रेस, एमाले र माओवादी केन्द्र नै शून्य अवस्थामा पुगेका छन् ।

हालसम्मको चुनावी परिणामअनुसार एकीकृत समाजवादी ५२ जिल्लामा, माओवादी केन्द्र २६ जिल्लामा, एमाले १० जिल्लामा र कांग्रेस २ जिल्लामा शून्य भएको छ ।

आइतवार रातिसम्म विभिन्न जिल्लाका ७१५ स्थानीय तहको मतगणना सम्पन्न भएर परिणाम सार्वजनिक भइसकेको छ भने अब ५ महानगरपालिकासहित ३८ स्थानीय तहको परिणाम आउन बाँकी छ ।

आइतवार रातिसम्मको परिणामअनुसार नेपाली कांग्रेसले ३१४ स्थानमा प्रमुख जितेको छ भने नेकपा एमालेले १९३, माओवादी केन्द्रले १२०, नेकपा एकीकृत समाजवादीले १७, जनता समाजवादी पाटीले २९ र लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा जितेका छन् ।

हालसम्मको परिणामअनुसार माओवादी केन्द्रले २६ जिल्लामा कुनै पनि पालिकाको प्रमुख पदमा जित हासिल गर्न नसकेको हो । एमालेले १० र कांग्रेले २ जिल्लामा कुनै पनि जित हासिल गर्न सकेनन् ।

कांग्रेसले पूर्वी रुकुम र दार्चुलाका कुनै पनि स्थानीय तहमा प्रमुख जित्न सकेन । पूर्वी रुकुमका ३ वटा पालिकामा माओवादी र एमालेले प्रमुख र उपप्रमुख पद जित्दा कांग्रेस भने निल अवस्थामा पुगेको हो ।

एमालेले सर्लाही, गोरखा, पूर्वी रुकुम, बाँके, कालीकोट, जुम्ला, रुकुम पश्चिम, मुगु, हुम्ला र डडेल्धुराका कुनै पनि स्थानीय तहको प्रमुख पदमा जीत हासिल गर्न सकेन । तीमध्ये गोरखा, बाँके, जुम्ला, रुकुम पश्चिम, हुम्ला र डडेल्धुरामा एमाले निल भएको छ । यी जिल्लामा एमाले प्रमुख र उपप्रमुख दुवै पदमा आउन सकेन ।

माओवादी केन्द्रले जित्न नसकेका २६ मध्ये १४ जिल्लामा उपप्रमुख पदमा समेत माओवादी केन्द्रका उम्मेदवार विजयी हुन सकेनन् । इलाम, झापा, सुनसरी, पर्सा, महोत्तरी, काठमाडौं, चितवन, रसुवा, कास्की, नवलपरासी पूर्व, मुस्ताङ, स्याङ्जा, रूपन्देही र बाजुरा गरी १४ जिल्लामा प्रमुख र उपप्रमुख दुवै पदमा माओवादी केन्द्र निल भएको हो ।

माओवादीले तेह्रथुम, धनकुटा, मोरङ, संखुवासभा, भक्तपुर, ललितपुर, पर्वत, मनाङ, म्याग्दी, लमजुङ, अर्घाखाँची, कपिलवस्तुमा प्रमुख पदमा जितेको छैन ।

देशभर २९ स्थानीय तह जितेको जसपाले ६२ जिल्लामा प्रमुख वा उपप्रमुख दुवै पदमा १ सिट पनि जित्न सकेन । जसपाले महोत्तरीका ५, सिराहाका ४, धनुषा, पर्सा, बारा र सप्तरीका ३/३ र सर्लाहीका २ स्थानीय तहमा प्रमुख जितेको छ भने ओखलढुंगा, सुनसरी, रौतहट, कपिलवस्तु र रूपन्देहीमा १/१ स्थानीय तहको प्रमुख जितेको छ ।

देशभर १७ स्थानीय तहको प्रमुख जितेको नेकपा एकीकृत समाजवादीले ५२ जिल्लाका स्थानीय तहमा प्रमुख वा उपप्रमुख जित्न सकेन । एमाले विभाजनपछि जन्मिएको समाजवादी २५ जिल्ला सीमित भएको हो । समाजवादीले यीमध्ये इलाम, उदयपुर, सिराहा, रौतहट, दोलखा, काभ्रे, धादिङ, मकवानपुर, चितवन, सल्यान, डोल्पा, मुगु, बझाङ र कैलाली गरी १४ जिल्लामा मात्रै प्रमुख पदमा जितेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले १४ स्थानमा जितेको छ । यो पार्टी सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रूपन्देही र कपिलवस्तु गरी ८ जिल्लामा सीमित भएको छ । लोसपाले महोत्तरीमा ५, बारा र सप्तरीमा २/२ र पर्सा, रौतहट, सर्लाही र कपिलवस्तुमा १/१ स्थानीय तह जितेको छ । राजधानीमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्