
स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् ।
हालसम्म १ लाख १९ हजार ३१९ मत गणना हुँदा गठबन्धनबाट प्रमुख पदका उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले ४७ हजार ९९२ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले ४४ हजार १३९ मत प्राप्त गरेका छन् । गठबन्धनका आचार्यले ३ हजार ८५३ मतान्तरसहित अग्रता हासिल गरेका छन् ।
उपप्रमुखमा एमालेकी मञ्जुदेवी गुरुङ ५० हजार २६० मतसहित अघि छिन् भने गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कोपिला रानाभाट ४७ हजार ४७० मतसहित उनलाई पछ्याइरहेकी छन् ।
महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा ३३ वडा रहेको पोखराका १८ वडामा कांग्रेस विजय भएको छ भने ७ वडामा एमाले विजय भएको छ । महानगरको वडा नम्बर १७, १८, १९, २१, २२, ३१, ३२, ३३ को मतगणना जारी छ ।