२१ जेठ २०८३, बिहीबार
सम्पादकीय

न्यून आय भएका जनतालाई मूल्यवृद्धिको विकल्प देऊ सरकार

न्यून आय भएका जनतालाई मूल्यवृद्धिको विकल्प देऊ सरकार

भर्खरै सम्पन्न चुनावको नतिजा बिर्साउने गरी सरकारले इन्धनमा फेरि भारी मूल्यवृद्धि गरेको छ । 

देश स्थानीय तह चुनावको नतिजाले रंगीन बनिरहेको समयमा भएको मूल्यवृद्धिबाट जनता ब्याकुल बनेका छन् । 

आइतवार भएको मूल्यवृद्धिपछि खाना पकाउने ग्यासको मूल्य १८ सय रुपैयाँ पुगेको छ । ग्यासको सिलिन्डरमा एकैपटक २ सय बढेको छ । 

डिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढेको छ । डिजेलमा भएको मूल्यवृद्धिले सार्वजनिक यातायातको भाडादेखि सामान ढुवानीको भाडा बढ्ने भएकाले अन्य क्षेत्रमा पनि महंगी बढाउने खतरा छ ।

यसै पनि नियन्त्रणबाहिर गएको बजार मूल्य, कालोबजारी र महंगीले सर्वसाधारण आजित भएका थिए । त्यसैमाथि थपिएको मूल्यवृद्धिले नागरिक निसास्सिएका छन् । 

अवगतै भएको कुरा हो, बढ्दो इन्धन आयातले नेपालको व्यापार घाटा चुलिएको छ । महंगोमा किनेर सस्तोमा बेच्दा नेपाल आयल नियम निरन्तर घाटामा गएको छ । 

भारतीय आयल कम्पनीलाई तिर्नका लागि समेत निगमले सापटी लिनुपर्ने अवस्था छ । यसका बावजुद नियमले इन्धनको आपूर्ति नियमित गरिरहेकोमा धन्यवाद नै भन्नुपर्छ । 

इन्धन खपत कम गर्नकै लागि सरकारले आइतवार समेत गरेर सातामा दुईदिन बिदा दिने निर्णय गरेको थियो । परन्तु, यसले पनि इन्धन खपतमा तात्विक कमी आएको छैन ।

विकल्प खोजेर इन्धनको आयात कम गर्दै जानु भविष्यका लागि पनि नगरी नहुने काम हो ।

श्रीलंकामा जस्तो आपूर्ति व्यवस्था खल्बलिनु भन्दा मूल्यवृद्धि गरेरै भए पनि आपूर्ति सहज गर्नु सरकारको दायित्व हो । सँगसँगै विपन्न वर्गका नागरिकलाई परेको मर्का सम्बोधन गर्नु पनि सरकारको कर्तव्य हो ।

यसरी मूल्यवृद्धि गर्दा न्यून आय भएका र गरीबीको रेखामुनि रहेका नागरिकको बारेमा सरकारले आँखा चिम्म गर्न मिल्दैन । 

संविधानले समाजवादउन्मुख भनेको देशमा नाफा कमाउन खोलिएका पाँचतारे होटलले प्रयोग गर्ने र त्यो होटलमा काम गर्ने मामुली कर्मचारीले प्रयोग गर्ने ग्यास सिलिन्डरको मूल्य एउटै हुनु प्राकृतिक न्यायको सिद्धान्तविपरीत हो । 

वृद्धभत्ताको उमेर ६५ वर्षमा झार्ने तयारी भइरहेको समयमा न्यून आय भएका नागरिकलाई राहत दिने विषयमा सरकारले केही न केही विकल्प खोज्नुपर्छ । 

विगतमा पनि बहस भएको यो विषय सम्बोधनका लागि निगमले सर्वसाधारणको प्रयोग र व्यावसायिक प्रयोगका लागि भनेर फरक सिलिन्डरको व्यवस्था गरेको थियो । निर्णय भएर ग्यास उद्योगीहरूले दुई थरी सिलिन्डर बनाए पनि त्यो प्रचलनमा आउन सकेन । व्यावसायिक प्रयोजनको ग्यासका लागि छुट्टै व्यवस्था गरी सर्वसाधारणका लागि सहुलियत दिने व्यवस्था सरकारले अविलम्ब गर्न जरुरी छ । 

खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुल्हो प्रयोगमा सरकारले विशेष अभियान चलाउनुपर्छ ।

सम्भव भए प्रत्येक परिवारलाई निःशुल्क र ७५ प्रतिशतसम्म अनुदान दिएर भए पनि विद्युतीय चुल्हो वितरण अभियान विस्तार गर्नुपर्छ । 

साथसाथै विद्युतीय चुल्होमा प्रयोग हुने भाँडामा पनि केही छूट दिएर ती उपकरण प्रयोग गर्न प्रेरित गरेमा इन्धन आयातमा केही भए पनि कमी आउने छ । मूल्यवृद्धिलाई मात्र समाधान नदेखी अन्य विकल्पको खोजीमा सरकार लागोस् ।

salt training

कमेन्ट गर्नुहोस्