
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढेकाले स्थानीय तहको निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताएका छन् ।
नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उनले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आमनिर्वाचनको तयारीमा जुट्नुपर्ने बताएका हुन् ।
एमालेलाई जनताले दिएको विश्वासअनुसार काम गर्न नसक्दा कांग्रेसको लोकप्रियता बढेको उनको भनाइ थियो । उनले अब कांग्रेसले जनताको पक्षमा मात्रै काम गर्दै अहिलेको सफलतालाई बढाउँदै लैजानुपर्नेमा जोड दिए ।
'अब स्थानीय तहको जनप्रतिनिधिको मूल्यांकन पार्टीले गर्छ, तपाईं मेयर साहेब होइन, नगर प्रमुख हो, यो कुरालाई नभुल्नुस्, तपाईंले गर्नुपर्ने कति काम गर्नुभयो र गर्नै नहुने कति काम गर्नुभयो कि भएन, त्यसको मूल्यांकन पार्टीले गर्छ, पार्टीले त्यसका लागि मूल्यांकन रिपोर्ट कार्डको व्यवस्था गरेको छ,' उनले भने ।
कार्यक्रममा कांग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले स्थानीय निर्वाचनमा अन्तर्घात गर्ने सबैलाई कारबाही शुरू गर्ने बताए ।
कार्यक्रममा कांग्रेसबाट मध्यपुर नगरपालिकामा प्रमुखमा विजयी हुने सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिकाका प्रमुखमा निर्वाचित जीवन खत्रीले पार्टीको निर्देशन र संकल्पअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।