
भारतले महँगी बढेको भन्दै गहुँ निर्यातमा रोक लगाएको दुई साता नपुग्दै चिनीको निर्यातमा पनि रोक लगाउने घोषणा गरेको छ ।
भारतले वैशाख अन्तिम साता गहुँ निर्यातमा रोक लगाएको थियो भने आगामी जुन १ (१८ जेठदेखि) चिनी निर्यातमा समेत रोक लगाउने निर्णय गरेको छ ।
भारतमा उपभोक्ता मुद्रास्फीति ७.७९ प्रतिशत पुगेपछि गहुँ निर्यातमा अल्पकालीन रोक लगाउने निर्णय गरेकोे थियो । अब चिनी निर्यातमा पनि रोक लगाउने भएको हो ।
भारतले सीमा तोकेर जम्मा एक करोड टन मात्रै चिनी निर्यात गर्ने भनेको छ । यो भनेको भारतबाट निर्यात हुने चिनीको साह्रै न्यून हिस्सा मात्रै हो ।
चिनी निर्यातमा भारत ब्राजिलपछि विश्वको दोस्रो ठूलो देश भएकाले पनि यसको उक्त निर्णयबाट नेपालसमेत प्रभावित हुनेछ ।
नेपालमा चालू आर्थिक वर्षको १० महिनामा मात्रै वार्षिक करीब ८ करोड ८५ लाख किलो चिनी भारतबाटै आएको छ । भारतबाट आएको यस्तो चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ६१ करोड रूपैयाँ रहेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
नेपालले आयातमा कडाइ गरेपछि गत वर्षको तुलनामा यो वर्षको वैशाखसम्ममा चिनी आयात ४५ प्रतिशतले घटेको छ । विभागको वैशाखसम्मको तथ्यांकअनुसार नेपालमा विभिन्न देशबाट ९ करोड ४५ लाख केजी चिनी आयात भएको छ । आयातित चिनीको भन्सार मूल्य मात्रै ४ अर्ब ८३ करोड रूपैयाँ छ ।
नेपालमा आयात भएको चिनीको यस्तो परिणाम गत वर्षको वैशाखसम्ममा १८ करोड ५२ लाख केजी थियो । गत वर्ष नेपालमा आयात भएको चिनीको मूल्य ८ अर्ब ९१ करोड रूपैयाँ थियो ।
नेपालमा वैशाखसम्ममा आयात भएको गहुँसमेत १९ करोड १५ लाख केजी रहेको छ । आयात भएको गहुँको भन्सार मूल्य मात्रै ६ अर्ब ३२ करोड रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
गत वर्षको वैशाखसम्ममा नेपालमा ३४ करोड ८ लाख केजी गहुँ आयात भएको थियो । गत वर्ष आयात भएको गहुँको मूल्य १० अर्ब ५८ करोड रूपैयाँ रहेको पनि विभागको तथ्यांकले देखाएको छ ।
भारतले गहुँ निर्यातमा लगाएको रोक तत्कालै नेपाली बजारमा देखिने निजी क्षेत्रका व्यवसायीले बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका अनुसार गहुँ आयात रोकिँदा यसको तत्काल प्रभाव मैदा उद्योगमा पर्छ ।
भारतले गहुँ निर्यातमा रोक लगाउने निर्णय गरेपछि नेपालका ४३ वटा मैदा उद्योग संकटमा परेको उनले बताए ।
नेपालमा भारतबाट गहुँ नआउँदा आटा र मैदाबाट बन्ने खाद्यान्नको मूल्य पनि बढ्नेछ । गहुँ नआउँदा पर्ने असर चाउचाउ तथा बिस्कुट उद्योगमा देखिने व्यवसायीको भनाइ छ ।