०१ असार २०८३, सोमबार

बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानवअधिकार आयोगको आग्रह

बलात्कारका घटनाको प्रभावकारी अनुसन्धान गर्न मानवअधिकार आयोगको आग्रह

राष्ट्रिय मानवअधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीडितलाई न्याय तथा दोषीलाई कानूनी कारबाही गर्न आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. टीकाराम भट्टराईले बुधवार जारी गरेको प्रेस विज्ञप्तिमा यौनजन्य हिंसा तथा बलात्कारका घटनाबाट पीडितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भनिएको छ ।
      
‘यौनजन्य तथा बलात्कारका घटनाका पीडित र साक्षीको सुरक्षा गर्न, पीडितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस प्रकारका घटनामा प्रहरीको अनुसन्धान कार्यमा सघाउन तथा अनुचित प्रभाव पार्ने कुनै पनि क्रियाकलाप नगर्न नगराउन आयोग सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछ ।’

पछिल्लो समय काठमाडौं लगायत देशका विभिन्न भागमा यौनजन्य हिंसा तथा बलात्कारका घटना सार्वजनिक भइरहेका छ । आयोगमा परेको उजुरीका आधारमा घटनाको अनुगमन समेत गरिरहेको जनाएको छ । सार्वजनिक भएका यौन हिंसा तथा बलात्कारका घटनाको अनुसन्धानमा नेपाल प्रहरीबाट भएका कार्य तथा देखिएका चुनौती सम्बन्धमा नेपाल प्रहरीका अधिकारी तथा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग आयोगमा बुधवार छलफल समेत गरेको छ ।
      
आयोगका सदस्य लिली थापाले यौनजन्य हिंसा तथा बलात्कारका घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धानमार्फत पीडितको समयमै न्याय प्राप्त गर्ने अधिकारको सुनिश्चित गर्न नेपाल प्रहरीको भूमिका प्रभावकारी हुनुपर्ने बताउँदै आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन निर्देशन दिइन् । प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले महिला हिंसासँग जोडिएका घटनालाई प्रहरीले संवेदनशीलरूपमा लिई अनुसन्धान गरिरहेको जानकारी गराए ।

salt training

कमेन्ट गर्नुहोस्