
धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज साम्पाङले बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमा आफूलाई सम्मान समारोहमा सहभागी बन्ने रुचि नभएको स्ट्याटस लेखे ।
उनले लेखेका छन्, ‘मलाई सम्मान समारोहमा सहभागी बन्ने खास रुची छैन । म काम गर्न चाहन्छु । मेरो यो भावना र चाहनाको ख्याल राखिदिनुहुन्छ भन्ने आशा लिएको छु ।’
सम्मान त्यागेर काम गर्न चाहने हर्कराज बुधवार साँझ खानेपानीको पाइप ओसार्नमा देखिएका छन् । उनले खानेपानीका पाइप मिलाइराखेको फोटो फेसबूकमा राख्दै लेखेका छन्, ‘खानेपानीको मूहान अवलोकन गरी कमजोरी सच्याउने र फोहोर गर्न नदिने निर्देशन दिइयो ! जय धरान !’
स्वतन्त्रबाट उम्मेदवारी दिएर मेयर जितेका हर्क यतिबेला देशभर चर्चामा छन् ।
